काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ।
रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रमाना दिन निर्देशन दिएको हो।
मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, कामकाज, काज र काज फिर्ताका निर्णय बमोजिम नै रमाना दिन भनेको हो।
स्थानीय सरकार सञ्चालन ऐन बमोजिम स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतसहित संघीय निजामती कर्मचारीलाई प्रचलित कानून बमोजिम रमाना लिन निर्देशन दिएको छ।
मन्त्रालयले निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई ७ दिनभित्र यस मन्त्रालयमा जानकारी गराउनु पर्ने गरी संघीय मामिलामन्त्री अनिता देवीले मन्त्रीस्तरीय निर्णय गरेकी छिन्।
अहिले सरुवा भएका कर्मचारीहरू रमाना नलिई साविककै कार्यालयमा बसिरहने विकृति मौलाएको छ। सम्बन्धित कार्यालयले पनि विभिन्न बहानामा रमाना नदिने समस्या समेत छ।
सरकारले सरुवा गर्दा तोकिएका कार्यालयमा समयमै नजाने प्रवृत्ति मौलाएपछि ७ दिनको समय दिएर परिपत्र गरेको हो।
![]()