काठमाडौं– गठबन्धनको केन्द्रीय नीतिविपरित काँग्रेस (बीपी) सँग तालमेल गर्ने निर्णय सच्याउन र उम्मेदवारी निस्क्रिय पार्न एकीकृत समाजवादीले डडेल्धुरा जिल्ला कमिटीलाई निर्देशन दिएको छ।
महासचिव डा. बेदुराम भुसालले आज विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविपरित स्वतन्त्र उम्मेदवारी दिएका डा. ताराप्रसाद जोशीलाई २४ घण्टाभित्र उम्मेदवारी निस्क्रिय पार्न निर्देशन दिँदै अन्यथा कारवाही गर्ने चेतावनी दिएका हुन्।
केन्द्रमा भएको सहमति उल्ट्याउँदै जोशीले डडेलधुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। पछि संघमा (बीपी) काँग्रेसका कर्ण मल्ल र प्रदेशमा जोशीलाई समर्थन गर्ने गरी दुई पार्टीबीच तालमेलको सहमति भएको थियो। जिल्ला तहमा भएको उक्त सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध भोट हाल्नुपर्ने अवस्था बनेपछि समाजवादीले केन्द्रबाट हस्तक्षेप गरी जोशीको उम्मेदवारी निस्क्रिय पार्न र गठबन्धनको पक्षमा उभिन जिल्ला कमिटीलाई निर्देश गरेको हो।
महासचिव भुसालले जिल्ला कमिटीका अध्यक्ष कविन्द्र विष्टलाई पनि पार्टी निर्णय विपरितका गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिएका छन्। केन्द्रको निर्देशन पालना नगरे स्वतस् जिम्मेवारीबाट मुक्त हुने भुसालको चेतावनी छ ।