विद्युत् उत्पादन अनुमतिपत्रका लागि जगदुल्लाले अगाडि बढायो प्रक्रिया - Chaitanya News
  • 2026-05-26
  • 21:30:50
  • मंगलबार,जेठ १२, २०८३
  • विद्युत् उत्पादन अनुमतिपत्रका लागि जगदुल्लाले अगाडि बढायो प्रक्रिया

    विद्युत् उत्पादन अनुमतिपत्रका लागि जगदुल्लाले अगाडि बढायो प्रक्रिया

    काठमाडौं– जनताको जलविद्युत्’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्व तयारी सुरु गरेको छ। आगामी छ महिनाभित्र भौतिक निर्माणमा जाने तयारीका साथ हाल पूर्वतयारीको काम सुरु गरिएको सो आयोजनाले जनाएको छ।

    कर्णाली प्रदेशको डोल्पा जिल्लामा अवस्थित सो आयोजनाको कूल क्षमता एक सय छ मेगावाट छ। स्थानीय जगदुल्ला र मुड्केचुला गाउँपालिकामा अवस्थित सो आयोजनाको प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादन अनुमतिपत्रका लागि बिहीबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।

    जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले केही दिन पहिले ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई समग्र आयोजनाको अवस्थाबारेमा जानकारी गराउँदै छ महिनाभित्र निर्माणमा लैजाने तयारी गरिएको जानकारी गराएका थिए।

    हाल आयोजनाका लागि वित्तीय व्यवस्थापनको काम भइरहेको र अन्य प्राविधिक तयारी समेत अन्तिम चरणमा रहेको उनको भनाइ थियो। कर्णाली प्रदेशमा निर्माण हुन लागेको सो आयोजनाले समग्र प्रदेशलाई उज्यालो बनाउने लक्ष्य राखिएको छ। आयोजनास्थल पुग्नका लागि पहुँचमार्ग निर्माण तथा अन्य पूर्वतयारीको काम अन्तिम चरणमा छ। आयोजनाबाट वार्षिक रुपमा छ सय २३ दशमलव ४७ गिगावाट घण्टा बराबरको विद्युतीय ऊर्जा उत्पादन हुनेछ।

    आयोजना अर्धजलाशय प्रकृतिको हो । यसको डिजाइन बहाव १६ दशमलव सात घनमिटर प्रतिसेकेण्ड छ। यस्तै कूल ग्रस हेड सात सय ८९ दशमलब ६० रहेको छ। आयोजनाको मुख्य संरचना नगदुल्ला नदीको बाँया किनारामा छ। पानी फर्काउनका लागि निर्माण हुने बाँधको लम्बाइ ९३ मिटर बराबर निर्माण गरिनेछ। ‘क्रङ्क्रिट ग्राभिटी टाइप’ को बाँध निर्माण हुने र समुद्री सतहबाट दुई हजार छ सय ९६ मिटरमा रहनेछ।

    आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको ५० किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने बाफिकोट सवस्टेशनमा जोडिनेछ। सो आयोजनामा सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआईडीसीएल०ले चार अर्ब रुपैयाँ बराबरको लगानी गर्ने भएको छ।

    गत ९ भदौमा एचआईडीसीएल र प्रवर्द्धक कम्पनीकाबीच ऋण स्वीकृत पत्र आदानप्रदान भएको थियो। ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अर्जुनकुमार गौतमले ऋण स्वीकृत पत्र प्रदान गरेका थिए।

    सो आयोजना निर्माणका लागि करिब २३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । सबै खालका अध्ययन सकिएको यो आयोजनाको वित्तीय व्यवस्थापनको अन्तिम तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नबिल बैंकलगायतले लगानी गर्ने तयारी गरिएको छ । आयोजनाका लागि कर्णाली प्रदेश सरकारले पहिलो चरणमा ११ लाख ७१ हजार पाँच कित्ता सेयरको ११ करोड ७१ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइसकेको छ । त्यस्तै दोस्रो चरणमा ६ करोड रूपैयाँ चालु आवमा नै भुक्तानी गरिसकेको छ । आयोजनाको कूल लगानीको ५ प्रतिशत सेयर कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने छ।