काठमाडौं– विभागीय टोली नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबार बिहान भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। पहिलो क्वाटरफाइनल खेलको पहिले सेटमा २५–२१ को जित निकालेको पुलिसले दोस्रो सेट २५–१३ ले जितेको थियो। अन्तिम सेटमा २५–२० ले जित निकाल्दै पुलिस सेमिफाइनलमा पुग्यो।
पुलिसले आजै हुने दोस्रो क्वाटरफाइनलको त्रिभुवन आर्मी र बागमती प्रदेशबीचको विजेतासँग खेल्ने छ। आज नै हुने तेस्रो क्वाटरफाइनलमा नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच खेल हुनेछ। त्यस्तै अन्तिम क्वाटरफाइनल गण्डकी प्रदेश र प्रदेश नम्बर एकबीच हुनेछ।