काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीको क्रममा गम्भीर बिरामी परेर कोमामा पुगेका नेपालीहरूलाई स्वदेश ल्याइने भएको छ।
मन्त्री शरतसिंह भण्डारीले कोमामा रहेका नेपालीलाई स्वदेश फर्काएर नेपालमै कोमामा राख्ने व्यवस्था मिलाउन लागिएको बताए। त्यसका लागि सम्बन्धित देशमा रहेको राजदूतावासलाई यकिन तथ्याङ्क सङ्कलन गर्न भनिएको छ।
दूतावासले कोमामा रहेका बिरामीहरूको यकिन तथ्याङ्क सङ्कलन गरेपछि उनीहरूलाई सरकारले नै नेपाल ल्याउने मन्त्री भण्डारीले बताए। नेपाल ल्याएपछि उनीहरूलाई नेपाली सरकारी अस्पतालमा नै उपचारको व्यवस्था मिलाउने उनको भनाई छ।
केही दिनअघि विभिन्न देशका राजदूतहरूसँग भएको छलफलको क्रममा समेत यो विषयले प्राथमिकता पाएको थियो। सरकारले उनीहरूलाई नेपालमा कसरी फर्काउन सकिने र उपचार कसरी गर्ने भन्ने विषयमा छलफल गरेको थियो। विस्तृत विवरण आएपछि उनीहरूलाई स्वदेश फर्काउने र उपचार गर्ने कार्य योजना रहेको मन्त्री भण्डारीले बताए।
वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका कतिपय नेपालीहरू गम्भीर बिरामी परेर कोमामा जाने गरेका छन्। उनीहरूलाई स्वदेश फर्काउन नसकिँदा सम्बन्धित देशमा अलपत्र अवस्थामा बस्नुपर्ने बाध्यता छ।