बढाइयो सुनको आयात कोटा - Chaitanya News
  • 2026-09-09
  • 03:06:36
  • मंगलबार,भाद्र २३, २०८३
  • काठमाडौं- नेपाल राष्ट्र बैंकले दैनिक आयात हुने सुनको कोटा बढाएको छ। केन्द्रीय बैंकले दैनिक १० किलोग्राम सुन आयात गर्न मिल्ने व्यवस्थालाई बढाएर २० किलो पुर्याएको हो।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले दैनिक आयात हुने सुनको कोटा २० किलो पुगेको रातोपाटीलाई जानकारी दिए। उनले अन्तरवार्ताका क्रममा भने, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा सुनको आयात कोटा बढेको छ।’

    उनले आफ्नै नेतृत्वमा सुनको आयात कोटा बढाउन पहल गरेको बताए। सुनको आयात कोटा बढाउने बैठकमा आफूसहित उक्त पहलमा अर्थमन्त्री रामशरण महत र गभर्नर महाप्रसाद अधिकारी समेत सहभागी रहेको उनले स्मरण गरे। यद्यपि, केन्द्रीय बैंकले सुनको आयात कोटा बढाउन परिपत्र भने जारी गरिसकेको छैन।

    बैठकपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केन्द्रीय बैंकलाई सुनको आयात कोटा बढाउन सिफारिस गरेको थियो। यसअघि, विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि केन्द्रीय बैंकले सुनको आयात कोटा १० किलोग्राममा झारेको थियो।

    तर प्रतिदिन आउने १० किलोग्राम सुनले बजार माग नधान्नेमा सबै निकाय जानकार थिए। सोहीकारण, कोटा बढाएर प्रतिदिन २० किलोग्राम पुर्‍याए पनि यसले समेत माग नधान्ने व्यवसायी बताउँछन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्म शाक्य नेपालमा दैनिक ३० देखि ३५ किलोग्राम सुनको माग रहेको बताउँछन्।