नेपालगञ्ज – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको मनोबल उच्च नहुँदासम्म मुलुक समृद्धितर्फ अग्रसर हुन नसक्ने बताएका छन्।
आज (बिहीबार) नेपाली कांग्रेस, बाँकेले पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै मन्त्री रिजालले उद्योगी व्यवसायीप्रति नकारात्मक सोच रहेको भन्दै त्यस्तो सोच नहटाउँदासम्म उद्योग व्यवसाय फस्टाउन नसक्ने समेत बताए।
उद्योग व्यवसाय नफस्टाउँदासम्म मुलुक समृद्धिको यात्रामा अगाडि बढ्न नसक्ने मन्त्री रिजालको भनाइ छ। उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार तत्पर रहेको बताउँदै उनले उद्योगी व्यवसायीको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताए। बाँके नौवस्तास्थित औद्योगिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले काम गर्ने उनको भनाइ छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री रिजालले उच्च मनोबलका साथ काम गर्न पार्टी पंक्तिलाई आग्रह गरे। लोकतन्त्रको विकास र स्थायित्वका लागि विचलित नभएर आ–आफ्नो कार्यक्षेत्रमा लाग्न उनको आग्रह छ। नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।