काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानलाई एमाले, राजवादी र भारतीय साम्राज्यवादीबाट खतरा भएको बताएका छन। आज (बुधबार) संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्। यस्तै उनले संविधान सभाबाट संविधानको निर्माणपछि नेपाली जनताको सात दशक लामो चाहना पूरा भएको समेत बताए। संविधानमा व्यवस्था भएका २०६२–०६३ सालको जनआन्दोलनका उपलब्धिहरूलाई रक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
केसीले भनेका छन्, ‘संविधानमा जनताका चाहना विपरीत तथा ०६२–०६३ को जनआन्दोलनको माग नै नभएको सङ्घीयतालगायतका गलत प्रावधानको हाम्रो पार्टीले जोडदार विरोध गर्नुका साथै यसको खारेजीका लागि सङ्घर्ष गर्दै आएको छ सङ्घीयता लगायतका संविधानका गलत प्रावधानका विरुद्ध हाम्रो गम्भीर असहमति भए पनि वर्तमान संविधानमाथि राजावादी शक्ति, भारतीय साम्राज्यवाद तथा स्वयं गणतन्त्रवादी शक्तिहरूको कुशासनको परिणाम त्रिकोणात्मक आक्रमण भइरहेको छ।
विगतमा एमालेले भारतीय साम्राज्यवादको मिलेमतोमा संविधान विपरीत दुई–दुई पटक संसद विघटन गरेको आरोप लगाएका छन्।
उनले भनेका छन्, ‘संविधानको मूलआत्मामाथि प्रहार गरेको एमाले अहिले पनि त्यो नीतिबाट पछाडि हटेको छैन। गणतन्त्रवादी शक्तिहरूको कुशासनका कारण जनतामा देखा परेको असन्तोषलाई प्रतिक्रियावादी शक्तिहरूले प्रतिगामी दिशा दिनका लागि पूरा प्रयत्न गरिरहेको परिप्रेक्ष्यमा संविधानको रक्षाको प्रश्न नेपाली राजनीतिको महत्त्वपूर्ण कार्यभार बन्न जान्छ। त्यही आवश्यकतालाई बोध गरेर नै हाम्रो पार्टीले प्रतिगमन विरुद्धको गठबन्धनमा जोड दिने नीति अपनाउँदै आएको छ।’