देउवालाई भेटेर शेखरले गरे कार्यशैली सच्याउन आग्रह - Chaitanya News
  • 2026-11-16
  • 14:54:49
  • सोमबार,मंसिर ०१, २०८३
  • देउवालाई भेटेर शेखरले गरे कार्यशैली सच्याउन आग्रह

    देउवालाई भेटेर शेखरले गरे कार्यशैली सच्याउन आग्रह

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेट भएको छ, भेटमा डा.कोईरालाले देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका छन्।

    आज (बुधबार) सभापति देउवालाई भेटेका शेखरले अहिलेको शैलीलाई सुधार गर्न आग्रह गरेका हुन्। शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए।

    देउवासँगको भेटमा संस्थापनइतरका नेताहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा मनोमानी भएको बताएका थिए।

    ‘प्रदेशका कुनै पनि सरकार बनाउँदा छलफल नगरेको कुरा शेखर दाइले राख्नुभयो। केन्द्रीय समितिमा एकलौटी तरिकाले मनोनित गरिएको कुरा पनि उठाउनुभयो’, शेखर गगन पक्षका एक नेताले भने।

    देश र पार्टी कमजोर भएपनि यसबीचमा पार्टीभित्र गम्भीर छलफल नभएको शेखरले बताएका छन्। ‘तपाईले आजदेखि कि कोर्स करेक्सन गर्नुस्। होइन भने हामी आफ्नो तरिकाले अघि बढ्छौं। तपाई आफ्नो तरिकाले चल्नुहुन्छ भने भेटेर के औचित्य रह्यो र? देउवासँग शेखरको भनाइ उद्दृत गर्दै ती नेताले भने।

    प्रतिउत्तरमा सभापति देउवाले सबैलाई मिलाएर जाने जवाफ दिएका थिए। सभापतिको जवाफ परम्परागत भएको संस्थापनइतरका ती नेताले बताए।

    संस्थापनइतरका एक नेताका अनुसार महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डेसहित सबै पदाधिकारीले देउवालाई भेट्ने तय भएको थियो। महामन्त्री थापा र सहमहामन्त्री पाण्डे बीपी साहित्य महोत्सवमा व्यस्त भएकाले जान नसकेको संस्थापनइतरका एक नेताले जानकारी दिए।

    ‘