हरेक राज्य व्यवस्थामा उठ्ने विरोधका अभिव्यक्तिहरूलाई समाधान गर्दै अघि बढ्नु सरकारको जिम्मेवारी : प्रदेश प्रमुख शर्मा - Chaitanya News
  • 2026-11-16
  • 14:55:25
  • सोमबार,मंसिर ०१, २०८३
  • हरेक राज्य व्यवस्थामा उठ्ने विरोधका अभिव्यक्तिहरूलाई समाधान गर्दै अघि बढ्नु सरकारको जिम्मेवारी : प्रदेश प्रमुख शर्मा

    हरेक राज्य व्यवस्थामा उठ्ने विरोधका अभिव्यक्तिहरूलाई समाधान गर्दै अघि बढ्नु सरकारको जिम्मेवारी : प्रदेश प्रमुख शर्मा

    हेटौँडा– बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले राज्य व्यवस्था बलियो बनाउन संविधानको अक्षरशः पालना गर्नुपर्ने बताएका छन्। आज (बुधबार) संविधान दिवस २०८० को अवसरमा आयोजित समारोहमा बोल्दै उनले उस्तो बताएका हुन्। यस्तै उनले हरेक राज्य व्यवस्थामा उठ्ने विरोधका अभिव्यक्तिहरूलाई समाधान गर्दै अघि बढ्नु सरकारको जिम्मेवारी भएको समेत बताए।

    शर्माले उत्कृष्ट राज्य व्यवस्थामा कुनै न कुनै रूपमा विरोधका आवाजहरू सुनिने गरेको धारणा पनि व्यक्त गरे।

    ‘सबैभन्दा राम्रो राज्य राम राज्य भनेर बुझिन्छ। राम राज्यमा पनि एक धोबीले आफ्नो अधिकार नपाएको भन्दै विरोध गरेको पाइन्छ। त्यसैले विरोधका आवाजलाई राज्यले सम्बोधन गर्दै अघि बढ्नुपर्छ,’ उनले भने, ‘संविधानसभाबाट जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले विद्यमान संविधान निर्माण गरिएको हो। संविधानका मर्म र भावनाहरुको पालना गर्न प्रतिबद्धता व्यक्त गर्नु नै हामी सबैको मूल दायित्व हो।

    संविधानप्रतिको ओठेभक्ति र संघीयता प्रतिको विष वमन विरोधाभासपूर्ण विषय भएको उनले बताए। संविधानले परिकल्पना गरेको यस्तै सुशासन प्रदेशमा रहेको उनको भनाइ छ। संविधानले न्याय, समानता र जनजीविकाको हक स्थापित भएको र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली निर्देशित शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन र विकासको मार्गचित्र कोरेको उनले बताए।

    ‘सबैले संविधानको पालना, रक्षा र कार्यान्वयनमा अटल एवम् अविचल रहने दिनको रूपमा अगिंकार गर्नसके लोकतान्त्रिक आन्दोलनप्रति सम्मान र वीर शहीदहरूप्रति सम्मान हुनेछ। संविधानले समाजवादको सुखद परिकल्पना गरेको छ र यसबाट समृद्ध नेपाल निर्माण गर्दै सुखी नेपालीको हँसिलो मुहार हेर्ने अपेक्षा गरेको छ।

    संविधानले केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उनले बताए। संघीयता, गणतन्त्र तथा धर्म निरपेक्षता संविधानले उपलब्ध गराएका भावी पुस्ताको धरोहर रहको उनले बताए।