काठमाडौं– अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। गत २२ भदौमा खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ४४ पैसा पुगेको डरलको विनिमय दरले मंगलबार पुन नयाँ रेकर्ड बनाएको हो।
लगातार बढ्दो क्रममा देखिएको डलरको विनिमय दर मंगलबार खरिद मूल्यमा १३२ रुपैयाँ ९४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ५४ पैसा पुगेको छ। पछिल्लो ३०र ३१ भदौ तथा १ असोजमा लगातार खरिद मूल्य १३२ रुपैयाँ ८० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ४० पैसा रहेकोमा मंगलबार ३असोजमा नयाँ रेकर्ड बनाएको हो।
लामो समयदेखि १३२ रुपैयाँकै वरिपरि रहेको अमेरिकी डलरको विनिमय दर २२ भदौमा बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको थियो। त्यसअघि १ भदौमा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो।
नेपाल र भारतको स्थिर विनिमय दरको कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ।
डलरको तुलनामा नेपाली मूल्य अवमूल्यन हुँदा आयातमा आधारित अर्थतन्त्रमा चाडवाडको मुखमा उपभोक्ताले झनै महँगी सामाना गर्नुपर्ने अवस्था आउने भएको छ। नेपाली मुद्रा कमजोर हुँदा डलरमा आयात हुने बस्तु झनै महँगिने हुन्छ।