पहिलेको सार्वजनिक प्रशासन प्रक्रियामुखी हुने, तथष्ट हुने थियो। पहिले कानुन र विधि भन्दा एक इन्च यताउति पनि नहुने भन्ने थियो। पहिले रुल एण्ड रुटिनमा काम गर्ने थियो। कमान्ड र कन्ट्रोलमा रहने भन्ने थियो। जसले सेवा भन्दा शासन गर्ने पद्धति हाबी थियो। विश्वमै कर्मचारी तन्त्रमा ठूलो परिवर्तन आएको देखिन्छ। निजी क्षेत्रको उदय हुँदा उहाँहरू नतिजा केन्द्रित सेवा प्रवाह गर्न थाल्नुभयो। निजी क्षेत्रमा सहकार्यमा काम हुन थाल्यो। कर्मचारीलाई टिमको एउटा सदस्यका रूपमा लिइयो। कर्मचारीको बीचमा सहकार्य हुनुपर्छ र प्रक्रिया भन्दा नतिजामा जोड दिनुपर्छ भन्ने भयो। नतिजामा काम दिनका लागि हामी कर्मचारीहरूले निजी क्षेत्रका राम्रा कुराहरूलाई पनि अङ्गीकार गर्नुपर्छ। हामीले गरिरहेको काममा सफल भयौं कि भएनौं भन्नेमा ध्यान दिनुपर्छ। म जुन संगठनमा छु त्यसको लक्ष्य के हो, उद्देश्य के हो? त्यो लक्ष्य हासिल गर्न मैले कसरी योगदान दिन सक्छु? मेरो पद, जिम्मेवारी, काम, कर्तव्य र अधिकारले लक्ष्य प्राप्ति कसरी गर्ने भन्नेमा ध्यान दिनुपर्छ। यो भनेको सेवा भाव पनि हो। कर्मचारीले सेवा ग्राहीलाई कस्टुमर जसरी हेर्नु हुँदैन। कुनै नागरिकको आर्थिक अवस्था कमजोर भएको समयमा पनि हामीले सहज सेवा प्रदान गर्नुपर्छ। कर्मचारीले सबै नागरिकलाई समतामूलक सेवा प्रदान गर्नुपर्छ। विपन्न नागरिकलाई, राज्यमा पहुँच नभएका नागरिकलाई हामीले प्राथमिकता दिएर सेवा प्रवाह गर्नुपर्छ।
अहिलेको कर्मचारी आइसिटी फ्रेन्डली हुनुपर्छ। अहिले विश्व सूचना प्रविधि मैत्री छ। त्यसैले अहिलेको कर्मचारीलाई आइसिटीको न्यूनतम ज्ञान हुनुपर्छ। हिजोको जस्तो टाइप राइटरमात्र नभएर पावर प्वाइन्ट प्रिजेन्टेन्सन बनाउने, चिठ्ठी आफैँ टाइप गर्न र पठाउन सकोस्, त्यसका लागि थप मान्छे राख्नु नपर्ने मल्टी डाइमेन्सन खालको कर्मचारी हुनुपर्छ। अब तातो पानी दिन अर्को मानिस नचाहिने आफैँ लिन सक्ने हुनुपर्छ। ड्राइभिङ गर्न आफैँ कार कुदाउन सकोस्। अबको कर्मचारी सेवामा सरोकारवालालाई सहभागी गराउने खालको हुनुपर्छ। जनतालाई सेवामा सहभागी गराएर कसरी प्रभावकारी सेवा प्रवाह गर्ने भन्ने खालको हाम्रो चिन्तन हुनु आवश्यक छ। अबको कर्मचारी पारदर्शी हुनुपर्छ। उसले गरेका हरेक क्रियाकलापमा जनताको मत, जनताको ट्याक्सको जस्टिफाइ गर्न सक्ने खालको कर्मचारी हुनुपर्छ। आफ्नो व्यक्तिगत स्वार्थमा रमाउने नभई सार्वजनिक हितमा काम गर्नुपर्छ। त्यसका साथसाथै नेपालको संविधानले परिकल्पना गरेको स्वच्छ, सक्षम, दक्ष, निष्पक्ष कर्मचारी हुनुपर्छ।
अहिलेको विश्व परिबेसबाट आएको कुरा भनेको समावेशिता हो। हाम्रा कर्मचारीहरूले समावेशितालाई स्वीकार गरेको हुनुपर्छ। हामीले विविधतालाई स्वीकार गर्दै विविधतालाई अपनाउनु पर्छ। र, हामीले विविधतामैत्री सेवा दिनुपर्छ। कतारमा फुटबल भयो। त्यसबाट उसले आर्थिक वृद्धि गर्यो, आर्थिक विकास गर्यो। तर, त्यहाँको सेवालाई विश्वले आलोचना गरे। किनकि समावेशी भएन। महिलामैत्री भएन भनेर विरोध भयो। त्यसैले अहिलेको विश्वको सेवा प्रवाहको मूल मर्मभित्र समावेशिता पनि पर्छ। हामीले सबै वर्ग, समुदाय र क्षेत्रका मानिसलाई स्वीकार गरेर सेवा प्रवाहप्रति अपनत्व प्रदान गर्नुपर्छ। र, सोही अनुरूप सेवा प्रवाह गर्नुपर्छ।
अर्को राजनीति र प्रशासनको कुरा गर्दा यिनीहरूले के चाहन्छन् भन्ने बुझ्नुपर्छ। राजनीतिको काम नीति निर्माण गर्ने हो। नीति निर्माण गर्दा इन्स्टिच्युट मेमोरी कर्मचारीले दिन सक्नुपर्छ। विश्वका उत्कृष्ट अभ्यासहरू दिन सक्नुपर्छ। विकल्प र डेटाहरू कर्मचारीले दिनुपर्छ। नीति निर्माण भइसकेपछि कर्मचारी त्यसमा प्रतिबद्ध भएर काम गरिदेओस् भन्ने राजनीतिको चाहना हुन्छ। कानुनको नतिजामुखी कार्यान्वयन र जनमुखी सेवा होस् भन्ने राजनीतिज्ञको चाहना हुन्छ। राजनीतिले प्रशासनको काम कारबाहीको अनुगमन र मूल्याङ्कन गर्दा कुन-कुन ठाउँमा समस्या देखियो ती दिएका सुझावहरू कर्मचारी तन्त्रले अक्षरशः पालना गरेर सुधार गरेको हेर्न चाहन्छ।
हामी प्रशासनका मानिसले राजनीतिबाट के अपेक्षा गर्छौ भन्ने कुरा पनि छ। हामीले राजनीतिज्ञबाट असल नीति निर्माण गरिदिओस् भन्ने चाहेका हुन्छौं। राजनीतिले प्रशासनको आधारभूत मूल्य मान्यता नभत्काओस् भन्ने हाम्रो चाहना हुन्छ। हाम्रा आधारभूत मूल्य मान्यताप्रति राजनीतिको स्वीकार्यता होस्। हाम्रो स्थायी हुने कुरा, पेन्सनका कुरा, क्षतिपूर्तिका कुरा, तलब र वृत्ति विकासका कुरा राजनीतिले स्वीकार गरोस् भन्ने कर्मचारी प्रशासनले चाहेको हुन्छ। अर्को प्रशासनले कर्मचारीबाट चाहने भनेको मार्गदर्शन हो। एउटा रोल मोडलको रूपमा राजनीतिज्ञ उपस्थित होस् भन्ने कर्मचारीको चाहना हुन्छ। असल जनप्रतिनिधित्व गरिदेओस्, जनताको हितमा बोलोस् भन्ने हाम्रो चाहना हुन्छ। राजनीति र प्रशासनको एउटै प्रणालीका उपप्रणाली हुन्। यिनीहरू एकअर्काका परिपूरक हुन्। यी एक अर्काका प्रतिस्पर्धी होइनन्। हाम्रोमा चाहिँ राजनीतिले प्रशासनबाट प्रतिस्पर्धा चाहिरहेको हुन्छ, प्रशासन पनि यो अनावश्यक हस्तक्षेप भयो भन्ने सोचिरहेको हुन्छ। यसले अस्वस्थ प्रतिस्पर्धा भएको छ। दुवैले एक अर्काका परिपूरक हौं भन्ने कुरालाई स्वीकार गरेर अगाडि बढ्दा सार्वजनिक व्यवस्थापन सफल हुन्छ। त्यसका लागि राजनीति र प्रशासन दुवै सफल हुन आवश्यक छ। एक अर्कालाई सफल पार्न दुवैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ। दुवैको उद्देश्य भनेको जनताको इच्छा चाहना पुरा गरेर राष्ट्र निर्माण गर्ने हो।
(नेपाल सरकारका उपसचिव एवम् भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार शर्मासँग चैतन्यका लागि यज्ञराज जोशीले गरेको कुराकानीमा आधारित)