शिक्षा विधेयकमा आपत्ति जनाउँदै देशभरका विद्यालय बन्द गर्ने शिक्षक महासङ्घको घोषणा - Chaitanya News
  • 2026-05-03
  • 04:42:03
  • शनिबार,बैशाख १९, २०८३
  • शिक्षा विधेयकमा आपत्ति जनाउँदै देशभरका विद्यालय बन्द गर्ने शिक्षक महासङ्घको घोषणा

    शिक्षा विधेयकमा आपत्ति जनाउँदै देशभरका विद्यालय बन्द गर्ने शिक्षक महासङ्घको घोषणा

    काठमाडौँ– नेपाल शिक्षक महासङ्घले सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको छ।

    आज (शुक्रबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासङ्घले यस्तो घोषणा गरेको हो। संसदमा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षकहरूको हकहितविपरीत भएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो।

    महासङ्घले आगामी असोज ३ गतेबाट देशभरिका विद्यालय बन्द गरी काठमाडौँ केन्द्रित आन्दोलन गर्ने जनाएको छ। विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवालमा ध्यान दिन नसकेको महासङ्घको आरोप छ।

    अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा समेत विधेयकले कुनै सम्बोधन गर्न नसकेको महासङ्घकी अध्यक्ष महासङ्घकी अध्यक्ष कमला तुलाधरले जानकारी दिए।

    उनले शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिँदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने तर्क गरे। शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगायतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केही भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने उनको माग छ।

    उनले सरकारले शिक्षकहरूले बेला(बेला गरेको आन्दोलनमा सहमति गरेको र उक्त सहमति कार्यान्वयन नगरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको जिकिर गरे। पत्रकार सम्मेलनमा संस्थागत विद्यालय युनियनका अध्यक्ष होमकुमार थापाले आफूहरू बाध्य भएर असोज ३ गतेदेखि विद्यालय नै बन्द गरेर आन्दोलनमा जान लागेको बताए।