“हिउँमा नखेलेको पनि धेरै दिन पो भएछ त हौ ! मेरो त ज्यानै कस्तो बोधोबोधो भएजस्तो, नुन नहालेको तरकारी खाएजस्तो पो लाग्दैछ त !”
“मलाई पनि उस्तै भा’को छ। धेरै दिन ‘ग्याप’ भएपछि मेरो त जिउ पो चिलाउँछ त !”
“त्यसो भए आजै एकपटक ‘दालाइस्’ पुगौँ न त।”
“पुगौँ भने पुगौँ न त। यहाँ बसिरहेर के नै जित्नु छ र ?”
शुक्रबारे चेली पासाङ ल्हामुले सुरू गरेको यो वार्तालापमा बुधबारे लाक्पाले सही थाप्नासाथ लामाले विशेष किसिमले नाम राखेका टेण्डी र लाम्बाबुले पनि समर्थन जनाइहाले। शेर्पा समुदायको नाम राख्ने प्रणाली बारमा आधारित हुन्छ। लामाले विशेष किसिमले नाम राखिदिएका बाहेक सामान्यतया अरू सबैको आइतबारको जन्म भए निमा, सोमबारको भए दावा, मंगलबारको भए मिङमा, बुधबारको भए ल्हाक्पा, विहीबारको भए फुर्वा, शुक्रबारको भए पासाङ र शनिबारको भए पेम्बा नाम रहेको हुन्छ। महिला र पुरुष दुवैको नाम उस्तै हुन्छन् तर केबाट छुट्याउन सकिन्छ भने अन्य हिन्दु महिलाहरूको नामको बीचमा माया, देवी वा कुमारी आए जस्तै शेर्पा महिलाहरूको नामका बीचमा नुरी, फुटी, ल्हामु, युटेन, फिन्जुम, रेन्जी, याङ्जी, छुटिन, निमी जस्ता शब्दहरू रहेका हुन्छन्।
हो, यसरी नै नामाकरण भएकी शुक्रबारे चेली पासाङ ल्हामुले यो भोजनपश्चात्को वार्ताको प्रारम्भ गरिन् र हिउँ खेल्न नपाएर जिउ बोधो भएको जनाउ दिएपछि अरू केही साथीहरू पनि हिउँमा खेल्न ‘दालाइस्’ तर्फ जान तयार भइहाले।
हिमाल भनेपछि ज्यानै छोड्न तयार यो बाहुनचरीले पनि यस्तो ‘चानस’ किन छोड्थ्यो र ? त्यहीँमाथि पासाङ ल्हामु शेर्पाले नै “जाने होइन त सर ?” भनेपछि त उसलाई झन् के चाहियो र ? लाग्यो ऊ पनि पछि पछि- डेप्याक च्यापेर। डेप्याकभित्र यस्ता सामाग्रीहरू राखेर जसको प्रयोगबाट तिर्खा, चिसो र अँध्याराका विरुद्ध लडाइँ गर्दै पुनः यही होटलसम्म आइपुग्न सकियोस्।
होटलबाट निस्क्यौँ र गाउँको फेरो मार्दै पूर्वी किनारातर्फ लाग्दैछौँ। चियाका बुट्टाहरूभन्दा होचा एक किसिमको काँडादार वनस्पतिका थुम्काले पूरै जमिनलाई ढाकेको छ। जमिन न त सम्म छ न त धेरै अग्ला डाँडाकाँडायुक्त नै। एक नासका दम्स्याइला थुम्काहरू छन् र तिनैलाई नाघ्दै हाम्रो समूह पनि अघि बढ्दै छ।
गह्रुंगो झोला बोकेका टेण्डी शेर्पा सबैभन्दा अगाडि लागेका छन्। टेण्डी शेर्पा अर्थात् तिनै टेण्डी शेर्पा जसले उषा विष्टलाई सगरमाथाको ८५०० मिटरको उचाइबाट उद्धार गरेर तल झारेर ज्यान बचाइदिएका थिए।
“उषालाई रेस्क्यू गरेको डोरी पनि यै हो डाकाल सर।” उनले झोलामा साइड लगाएर राखेको एक मुठो डोरी पनि देखाए।
म दङ्ग परेँ- किनकि त्यो एक ऐतिहासिक डोरी थियो। विदेशमा भए तुरुन्तै टेण्डीसँग किनेर संग्रहालयमा राखिन्थ्यो। बेहोश भएर डोरीमा तुर्लुङ्ग झुण्डिएकी उषालाई उनैले उद्धार गरेर ७५०० मिटरसम्म ल्याएपछि क्यानेडियन् टोलीसँग भेट भएको थियो र बाँकी उद्धार कार्य क्यानेडियन् टोलीकी डा. मिजेन म्याकग्राफले गरेकी थिइन्। टोलीका अन्य शेर्पाहरूले उनलाई दिलोज्यानले सघाएका थिए। पछि नेपाल पर्वतारोहण सघंले ती डाक्टरलाई कुमार खड्गविक्रम साहसिक पुरस्कारद्वारा पुरस्कृत पनि ग¥यो। तर टेण्डीलाई कसैले सम्झेन। उनले चाहिँ आप्mनो कर्तव्य निर्वाह गरेको मात्र सम्झिइयो। हुन पनि हो, शेर्पाहरूले कतव्र्यपालन गरिदिएकै कारणले नेपालको पर्वतारोहणको इतिहास बनेको छ। भूत र वर्तमान मात्र होइन, भविष्य पनि शेर्पाहरूकै कारणले सुरक्षित छ।
![]()
लाम्बाबु शेर्पा र पासाङ ल्हामु शेर्पा
टेण्डीका पछिपछि छन् लाम्बाबु शेर्पा। शालीनताका प्रतिमूर्ति। झट्ट हेर्दा पनि बाहुन क्षेत्रीजस्तै देखिने लाम्बाबुले पनि कीर्तिमानी आरोहणहरू गरेका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्धको ५० औँ वर्षको अवसरमा आयोजित ‘नागपाइगोसुम्’ हिमालको संयुक्त आरोहण दलमा यिनी त्यो टोलीको सरदार नै थिए।
लाम्बाबुभन्दा पनि पछाडि छिन् मलाई असाध्यै मन पर्ने हिमालकी छोरी- पासाङ ल्हामु शेर्पा। एउटी पासाङ ल्हामु त बितिहालिन्। अब यिनै एउटी छन् जसले उनैको पदचिन्हहरूलाई अभैm विकसित ढङ्गले पछ्याइरहेकी छिन्। ती पासाङ ल्हामु आरोही मात्र थिइन्; आरोहण गरिन् र आरोहणको क्रममै बितिन्। तर यी पासाङ ल्हामु सगरमाथा आरोहीका अतिरिक्त नेपालकी एक मात्र व्यवसायिक पर्वतीय प्रशिक्षक पनि हुन्। यिनलाई आरोहणको प्रमाणपत्र दिएको दिन म अझै पनि सम्झन्छु। नेपाल पर्वतारोहण संघका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पाले भन्नुभयो- “पासाङ ल्हामु शेर्पा द जुनियर।”
मैले भनेँ- “पासाङ ल्हामु शेर्पा द सेकेण्ड।”
अनि खूब हाँस्यौँ- “समयले देखाउनेछ एकदिन; यी पासाङ ल्हामु ‘जुनियर’ हुनै सक्दिनन्। यिनै ‘सिनियर’ हुनेछिन् कुनै दिन आफ्ना कीर्तिमानले गर्दा। तर जन्मको क्रमलाई बदल्न नसकिने हुनाले यी सधैँ द्वितीय नै रहनेछिन्।” मेरो तर्क आङछिरिङ सरलाई पनि मन पर्यो।
तिनै पासाङ ल्हामुको झोला बोकिएको पिठ्यूँलाई हेर्दै म उनका पछाडिपछाडि हिँड्दैछु। यिनको सर्लक्क परेको जिउडाल, आकर्षक र अग्लो शारीरिक बनोट, उच्च ललाट, आत्मविश्वासी अनुहार, दृढताका पर्यायजस्ता लाग्ने आँखाहरू र भद्र व्यवहार हेर्दा के लाग्छ भने- यी धेरै परसम्मको यात्रा तय गर्न जन्मिएकी हुन््। म उनलाई सधैँ प्रेरित गरिरहन्छु। म उनलाई सधैँ हौसाइरहन्छु- भेटेका बेलामा।
“तर हामी आइमाईलाई धेरै गाह्रो छ सर, यो क्षेत्रमा टिक्न।” कहिलेकाहीँ उनी पनि संशय बोल्छिन्। नत्र त उही मृदु मुस्कान र अल्पबोली नै परिचयपत्रझैँ बनेर झुण्डिरहन्छ उनको अनुहारमा- प्रायः सधैँ जसो।
क्यान्जिनरीलाई बायाँतिर पारेर हामी निरन्तर अलिकति पूर्व मिसिएको उत्तरतिर हिँडिरहेका छौँ। हामीले चढ्न चाहेको च्यार्खुरी सिधै अगाडि उभिएर हामीलाई बोलाइरहेछ। गाङ्छेम्पो र लाङ्सिसाखर्क अझै पनि दाहिने हाततिरै छन्। पाङ्गोङ्डोक्पा, नयाँखाङ र उर्केमा चुलीहरू अब हाम्रा पिठ्यूँतिर परिसकेका छन्।
यो नागीमा ठाउँठाउँमा चौंरीहरू बसेर उघ्राइरहेका छन्।
“नाक त सोझै हुन्छ, त्यत्ति बिगार पनि गर्दैन। तर याक त खतरनाक हुन्छ। यसबाट त सधैँ जोगिएरै हिँड्नुपर्छ है सर।” मभन्दा पनि पछाडि हिँडिरहेका लाम्बाबु मलाई सुझाउँछन्। र, उनकै सुझावअनुरूप म अगाडि बसेको भयानक खप्परे याकलाई पूरै बाटो छोडिदिएर अर्कोतिरबाट तर्किन्छु। लाम्बाबुले पनि मैलाई पछ्याउँछन्।
“एक पटक हाम्रै एक जना साथीलाई एउटा यस्तै याकले ठहरै पारिदियो नि सर, ठाउँको ठावैँ। भुँडी पूरै छेडेर सिङ नै डँडाल्नातिरबाट निकालिदियो।” लाम्बाबु कथा सुनाउँदै छन्- “हामी सबै तर्केर हिँड्यौँ। तर ऊ एकजनाचाहिँ बडो जान्ने भएर “शेर्पाको छोरो भएर पनि याकसँग तर्केर हिँड्ने ? यो त हुँदैभएन नि” भन्दै छेउमै गयो। याकले ड्याम्मै हान्यो र सिङमै उनेर दगुर्न थाल्यो। हामी त के गर्नु न के गर्नु भयौँ। पशुसँग पनि जिस्केर हुन्छ र सर ? ऊ भन्दै थियो- “हामी त गोठभरि याक पालेका मान्छे, केको डर ? याकको आनीबानी थाहा पाएपछि डराउनु पर्दैन।” तर उसले आफ्नो कुरो सिध्याउन पनि नपाउँदै याकले उसैलाई सिध्याइदियो। ठाउँको ठाँवैँ बित्यो बिचरा। दशा नि ! दशा लागेरै त आ’को होला नि यस्तो उपध्रो।”
निकै बेर हिँडेपछि ‘छुबिछु’ आइपुगियो। सोच्दै नसोचेको ठाउँमा कडा हिउँको यो विशाल थुप्रो कसरी आयो होला ? उनीहरूले कुरा गर्दा अघिदेखि नै ‘छुबिछु’ भनेको यही हिउँलाई पो हो रहेछ। प्रशिक्षणका लागि नजिकै र उपयुक्त हिउँको खोजी गर्न हिँडेका यहीँका होटल व्यवसायी दावा र अहिले पनि हामीसँगै आइरहेका लाक्पाले यो हिउँ पत्तो लगाई गुणस्तर जाँचेर प्रशिक्षणको काम सुरू गरेको हुनाले दावा र लाक्पाकै नाममा यो हिउँको थुप्रोलाई अरूले पनि ‘दावा–लाक्पा आइस्’ भनेर मान्यता दिन थालेका रहेछन्।
मैले लाक्पालाई बधाइ दिएँ।
“शेर्पाको छोराले हिउँ पत्तो लगायो। अरू त के गर्न सक्छ र सर ?” लाक्पा पनि मनमनै खुशी नै भए। “आखिर यो नामले पनि अब बल्ल व्यापकता पाउने भयो- तपाईंको यो यात्राको किताब छापिएपछि।”
‘दावा–लाक्पा आइस्’ भन्दा नाम लामो भयो। अब म यसलाई ‘दालाइस्’ भनेर प्रचारमा ल्याइदिन्छु। हुँदैन ?
अब कसरी हुँदैन भन्लान् त लाक्पाले ?
लाक्पा दङ्ग परेको पर्यै छन्। बिचरा कर्मीमौरी !
![]()
यही हो दालाइस्
हामी वारिपट्टि छौँ। बीचमा गहिरो खोल्सो छ। र, पारिपट्टिको भित्तामा हिउँ जमेको छ। तल खोल्साको पानी आधा जमेको र आधा बगेको स्थितिमा छ। वारिबाट हेर्दा खोल्सो खतरनाक देखिँदैछ। यदि कोही त्यहाँ खस्नु हो भने निस्केर आउन सक्ने कुनै ठाउँ नै देखिँदैन।
अनि खतराको खेल सुरू भयो।
टेण्डीले एउटा ठूलो ढुङ्गामा डोरी बाँधे। अनि मलाई भने- “सर अब यो एंकरमाथि बस्नोस्। हल्लियो भने पनि नडराउनु होला। एउटा मान्छेको वजन धान्न एउटा सानै काँटी पर्याप्त हुन्छ।”
फेरि लाम्बाबुले थपे- “होइन होइन, सरलाई रमिता हेर्न दिऊँ। अहिले म ढुङ्गोमा बस्छु तिमी तल जाऊ। पछि लास्टमा सरलाई बसाऊँला।”
लाम्बाबु शेर्पा ढुङ्गामा बस्नासाथ टेण्डी त डोरी समातेर माकुरोझैँ सजिलै तल खोँचमा पुगे। मैले त फोटो खिच्नसमेत नभ्याउँदै उनी त फटाफट तलै पुग्न भ्याए। म त अचम्ममा परेँ। त्यसपछि तलको खोल्सी तरे। झोलाबाट ‘आइस–एक्स’ झिकेर हिउँमा चुच्चो गाडेर राखे। त्यसैमा डोरीको मुठो झुण्ड्याए। झोलाबाट क्राम्पून झिकेर दुवै खुट्टामा लगाए। हातमा सामान्य पञ्जा लगाए। र, उहिले नै हामीले डाले घाँस काट्न रुखमा चढ्न टेको काटेझैँ हिउँमा साधारण टेको काटे र त्यसैमा क्राम्पूनको चुच्चो घुसाई उभिए। क्राम्पूनको चुच्चोतिर समेत दुइटा दाँत हुने रहेछन्- त्यो त मैले आजसम्म विचारै गरेको रहेँनछु।
![]()
आरोहण गुरु टेण्डी शेर्पा
त्यसपछि त त्यो ९० डिग्रीको ठाडो भीरमा पनि उनी यति सजिलै र यति छिटोछिटो चढे कि म त हेरेकोहेर्यै पो भएँ।
![]()
माथि चढ्दै अघि बढ्दै : टेण्डी
टेण्डी शेर्पाले ५/७ वटा टेकोको प्रयोग गरेर अलि माथि पुग्नासाथै माथिबाट फेरि उही डोरीमा सुल्किँंदै पासाङ ल्हामु तल खोल्सोमा पुगिन्। पासाङ ल्हामुले पञ्जा, हेल्मेट र क्राम्पून लगाएर तयार भइन्जेलसम्ममा माथि पुगिसकेका टेण्डीले हिउँमा प्वाल पारीकन एउटा स्क्रु घुसाएर डोरी पनि बाँधिसकेका थिए।
”अब म आऊँ टेण्डीदाइ ?” उनले सोधिन्।
“एउटा स्क्रु थप्न देऊ- एकछिन पर्ख।” टेण्डीले भीरबाटै भने।
हामीले देख्दा देख्दै टेण्डीले हार्नेसबाट फेरि अर्को स्क्रु झिके। बर्माले काठमा प्वाल पारेझैँ खिरिरिरी पार्दै हिउँमा प्वाल पारे। हार्नेसबाट दुइटा क्याराविनरहरू झिकेर तिनलाई नै आपसमा जोल्ठ्याए अनि त्यसैमा डोरी टाँगे।
![]()
काँटी ठोकेर/नाक छेडेर तह लगाइएको हिउँ
“पासाङ, अब आऊ।” उनले तल हेर्दै नहेरी भने।
पासाङका लागि त अब झन डोरीको बाटो थियो। उनले किन ढिलो गर्थिन् र ? त्यही डोरीको सहारा र टेण्डीले काटेका टेकाहरूमा हात र खुट्टा अड्याउँदै उनी पनि माथि पुगिन्।
म अचम्म मानिरहेको छु- क्राम्पूनको अगाडि उछिट्टिएका १ इन्च जति लामा दुइटा दाँत हिउँभित्र घुस्न पाए भने मान्छेलाई मजाले थाम्ने रहेछन्।
अनि दुवै जना माथि भेट भएपछि ठाडो चढाइ पनि गरे, तेर्सो हिँडाइ पनि गरे। धेरै वरसम्म आए- डोरीकै पुल बनाएर खाल्डो तर्ने अभ्यास पनि गरे। लाक्पा पनि तल ओर्ले र उनले अर्कै ठाउँबाट फेरि अभ्यास सुरू गरे।
अब एंकर बाँधेको ढुङ्गोमा बस्ने पालो मेरो आयो। म ढुङ्गोमा बसेपछि लाम्बाबु पनि तल ओर्ले र त्यही भीरमा गएर खेल देखाउन थाले।
![]()
तयार भयो डोरीको जंक्सन
मलाई के लाग्यो भने जसरी कुस्तीबाजहरूले अखाडामा अभ्यास गर्न पाएनन् भने उनीहरूको जिउलाई सञ्चो हुँदैन; आरोही शेर्पाहरूका हकमा पनि त्यही नियम लागू हुने रहेछ।
धेरै बेर खेले यी चारजना साथीहरू त्यो पल्लोपट्टिको हिउँ भीरमा। अनि क्रमशः फर्कन थाले। लाक्पा आए, लाम्बाबु आए, टेण्डी आए। पासाङ ल्हामु अहिले अन्तिममा छिन्। अन्तिममा रहेको मान्छेले सबै सामानहरू उठाउँदै आउनु पर्ने रहेछ।
म हेरिरहेको छु- अघि टेण्डीले दाहिनेतिर घुमाएर कसेका स्त्रूmहरूलाई उनी बायाँतर्फ घुमाएर धमाधम फुकाल्दै छिन्। फुकालेका स्क्रुहरूलाई मुखले फू फू गर्दै फुकेर त्यसभित्रको हिउँ झार्दैछिन्। र, फुकालेका स्क्रु र क्याराविनरहरूलाई आफ्नो हार्नेसको ठीक ठीक ठाउँमा घुसार्दै पनि छिन्।
![]()
![]()
यस्ता हुन्छन् हिउँमा ठोक्ने पेचकिला र डोरी अल्झाउने क्याराविनरहरू
कति छिटो, कति व्यवस्थित अनि कति सफा ढंगले काम गर्दिरहिछन् पासाङ मिसले। म त हेरेरै दङ्ग परेँ। ठाडो भीरमा झुण्डिएकी छन् र उल्टै डोरी फुकाउँदै आएकी छिन्- तैपनि अनुहारमा डरको कुनै झलक नै छैन।
सबै जना वारि आएपछि मैले भनेँ- “म पनि एक पटक तल जाऊँ ?”
“जानुहुन्छ ? नडराउनु होला है त !” लाक्पाले मलाई प्रोत्साहित गरे। मैले अरू ओर्लेको शैलीलाई हेरिसकेको हुनाले त्यसै गर्दैगर्दै तल खोल्सोसम्म पुगेँ। खोल्सोमा उत्रिने ठाउँ निकै नै अप्ठेरो रहेछ। यहाँबाट माथितिर हेर्दा त यो हिउँको ठाडो भीर अझ ठाडो र पूरै ९० डिग्रीकै देखियो।
माथिबाट साथीहरूले निकै पटक बोलाएछन् मलाई। निकै गहिरो खोँचमा पुगेको हुनाले मैले सुनिनँछु। अनि त फेरि लाम्बाबु हत्तपत्त तल आएका रहेछन्- के भएछ भनेर हेर्न।
“केमा अल्मलिनु भयो सर ? बेर भो नि !” तल आएर उनले सोधे।
“म यी हिउँका चिराहरूलाई हेर्दैछु। फेरि मौका पर्दैन नि त मलाई त।”
“जाऊँ सर फेरि ढिलो हुन्छ।” लाम्बाबुले मलाई पहिले पठाउने भए। मैले बुझेँ- उनी मलाई पछाडि छोड्न चाहदैनन्। मैले डोरी चढ्न सुरू गरेँ। ओर्लनभन्दा उक्लन अलि गाह्रो र डरलाग्दो हुँदो रहेछ।
![]()
हिमाल चढाउने डोरीहरू
‘प्याकअप’ पछि हामी फक्र्यौं। उही बाटो फर्कंदैछौँ। पर खोलापारि देखिँंदैछ एक समतल भूभाग- विमानस्थल हो रे यो ठाउँको। तर चालु रहेनछ। डुब्दो घामका कारणले चुलीहरू पहेँला देखिँदै गएका छन्। धेरै पर पानीले टिल्पिल टिल्पिल भरिएका खेतका गराहरू जस्ता देखिएका छन्- हिउँका। यो क्षेत्रको बगरमा पनि बालुवाको विशाल राश देखियो। अचम्म ! हिमनदीमा त यस्तो नहुनु पर्ने। हिमनदीले त खुम्बुक्षेत्रमाभैmँ सकेसम्मको उपध्रो मच्चाएको हुनु पर्ने। तर यहाँको हिमनदी त शान्त भएर बालुवा चालेर बस्दो रहेछ। यहाँको हिमनदीले पनि चोयुमुनिको ङजुम्बाखाङ हिमनदीले जस्तै बालुवा चाल्दोरहेछ।
![]()
सेताम्मे गराहरू र बालुवा मात्र बोक्ने हिमनदी
धेरै वर आइसकेपछि एउटा ढुङ्गामा पाइतालाको छाप भेटियो। भगवान पद्मसम्भवको पाइलो हो रे यो। कैलाशतिरबाट यता झर्दा टेकेको एउटा पाइलो यहाँ र अर्को पाइलोचाहिँ नयाँखाङ हिमालको फेदीमा छ रे। यतैबाट झरेर यिनै ठाउँहरूमा टेक्दै गोसाइँकुण्ड, हलेसी र फर्पिङ पुगेको कथा रहेछ- भगवान् पद्मसम्भवको। हलेसी नामको तीर्थकाव्य नै लेखेका साहित्यकार राधेश्याम भट्टराई दाजुले वर्षौंअगाडि सुनाएको उही कथा आज फेरि लाक्पाले सुनाइरहेछन्।
त्यो चमत्कारी पाइलालाई मैले भूमिसात् भएर दण्डवत गरेँ। मैले त्यसो गरेको देखेपछि पासाङले पनि ढोगिन्। तर अरूले ढोगेजस्तो लागेन। कि वा म लम्पसार परेकै बेला पो अरूले पनि नमस्कार गरेका थिए कि ? मैले नदेखेको पो हो कि ?
![]()
पाइतालाको छाप : पद्मसम्भवको
अलि वर आएपछि एउटा ढुङ्गामा ‘वे टु याला’ लेखेको देखियो। हामीले पछ्याउनु पर्ने नै यसैलाई हो भोलि पर्सि लगायत अभैm कति दिनसम्म।
तर अघि जाँदा भने खै कसो भएर हो कुन्नि, देखिएनछ।
त्यसपछि लाक्पाले मलाई धेरै बेरसम्म यताउता घुमाइरहे- पद्मसम्भवले तपस्या गर्दा ढाडले खियाएको ढुङ्गो देखाउन। तर निकै बेर खोजी गर्दा पनि कतै भेटिएन। ठाउँ पनि अल्मलियो होला; अँध्यारो पनि गाढा हुँदै आएकोले पनि हुन सक्छ- त्यो ढाडको छापवाला ढुङ्गो देख्नै पाइएन।
पछि होटलमा आइपुगेपछि पो होटलका मालिक सुब्बा तामाङले भने- “त्यो ता त्याँ होइना नि, आलि परै पो छा।”
“नाबा’को ठौँमा खोजेरा कासरी बेट्छ त ?” सुब्बाकी श्रीमती काराचोम तामाङले लाक्पामाथि नै कटाक्ष गर्दै भनिन्- “नाबा’को ठौँमा सर्लाई गुमाएछा, लाजै मार्नु।”
मलाई काराचोमको बोल्ने शैली असाध्यै मन पर्यो तर लाक्पालाई भने यो हस्तक्षेप पटक्कै मन परेनछ। उनले अर्कै जवाफ दिँदै भने- “यो मोबाइललाई चार्जमा राखिदेऊ त साउनी। बड जान्ने हुनु पर्ने।”
डाइनिङ टेबल सजाइसकेका छन् मुलाल गुरुङजीका किचन स्टाफले। अब हामीले त आफैँलाई रिचार्ज गर्ने हो। आफ्नै पेटलाई फुलचार्ज गर्ने हो र ओछ्यानमा पुगेर पनि रातिको सम्भावित माइनस १५ लाई छेक्न सक्ने गरी स्लिपिङ ब्यागभित्र पनि ‘इनरशीट’ रिचार्ज गर्ने हो।
कोही छ रातभरि घाम चार्ज गर्न सक्ने ? यदि त्यसो हो भने हामी पनि केही रिचार्ज नगरी बस्न सक्छौं। नत्र त मर्नु भएन क्यारे, अनि क्यार्नु त? अनि नघुस्रेर भो त यी क्यान्जिने न्याना धोक्राँ?