६० किलो सुनको अनुसन्धान सकिएपछि विमानस्थल भन्सारका कर्मचारीले रोके आन्दोलन - Chaitanya News
  • 2026-11-16
  • 15:52:08
  • सोमबार,मंसिर ०१, २०८३
  • ६० किलो सुनको अनुसन्धान सकिएपछि विमानस्थल भन्सारका कर्मचारीले रोके आन्दोलन

    ६० किलो सुनको अनुसन्धान सकिएपछि विमानस्थल भन्सारका कर्मचारीले रोके आन्दोलन

    काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएसँगै कर्मचारीहरु आन्दोलन रोकेर नियमित काममा फर्किएका छन।

    नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका थिए भने २५ भदौमा कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गरेका थिए।

    भन्सार विभागसहित अर्थ मन्त्रालयले अनावश्यक रुपमा दुःख दिने अवस्था आउन नदिने प्रतिबद्धता समेत जनाएको भन्दै कर्मचारीहरु आन्दोलन रोकेर काममा फर्किएका छन्।

    विनाप्रमाण केही कर्मचारीहरु पक्राउ गरेको भन्दै उनीहरुले २७ भदौभित्र मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका थिए ।

    तर, प्रहरीले हिजो २७ भदौमा नै प्रहरीले अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात् कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दाको प्रतिवादी बनाउन राय दिएको छ। यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन्।

    यसरी अनुसन्धानमा तानिने डरले आन्दोलन सुरु गरेका कर्मचरीले अनुसन्धान सकिएको सीआईबीको घोषणासँगै सन्तोषको सास फेरेको अर्थ मन्त्रालय स्रोतले बतायो । ‘पछिल्ला दिनमा समेत केही कर्मचारीहरु समातिए, त्यसपछि विमानस्थल भन्सार त्रास बढेको थियो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘प्रहरीले अनुसन्धान सकाएकाले अब भन्सारमा काम प्रभावित हुँदैन ।’