काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन २०८२ को मंसिरभित्र गरेरै छाड्ने बताएका छन्। आज (बुधबार) पोखरा महानगरपालिकाको सम्मेलनमा बोल्दैउनले यस्तो बताएका हुन्।
कांग्रेसको विधानमा पार्टीको महाधिवेशन चार वर्षभित्र गर्ने व्यवस्था गरिएको छ। २०७८ मंसिरमा १४ औं महाधिवेशन भएकाले १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्छ। तर क्रियाशील सदस्यता विवादले गर्दा कांग्रेसको महाधिवेशन विधानले तोकेको समयभित्र हुन सकेको छैन।
थापाले यसपटक विधानले तोकेको समयभन्दा पछि नसर्ने दाबी गरेका हुन्। उनले भने, ‘२०८२ मा महाधिवेशन गर्नैपर्छ। २०८२ सालको मंसिर उता महाधिवेशन एक जाँदैन, दुई जाँदैन, तीन जाँदैन। जान दिइन्न।
पार्टीमा क्रियाशील सदस्यता टुंगो लगाउने जिम्मेवारी महामन्त्री थापालाई छ। उनले २०८२ वैशाखअघि नै क्रियाशील सदस्यता टुंग्याउने दाबी गरेका छन्।
महाधिवेशन हुने वर्षमा नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण नहुने उनले बताए। थापाले भने, ‘क्रियाशील सदस्यता टुंगाउन म संयोजक हुँ। सबैले काम गरेर अधिवेशन गराउने हो।’
चार वर्षभित्र महाधिवेशन हुँदा २०८३ सालमा सबै तहका सम्मेलन गर्न सकिने उनले बताए। तहगत सम्मेलनबाट तल्लो तहका संरचनाले निर्वाचनका लागि आफैं उम्मेदवार छान्न सकिने महामन्त्री थापाले बताए।