काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सङ्घीयताको सफल कार्यान्वयन हुन नसके खारेज हुने बताएका छन।
आज (बुधबार) जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सङ्घीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेज पनि हुन सक्ने आशङ्का व्यक्त गरे।
यसैबिच उनले सङ्घीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताउँदै आम जनता र मुलुकका लागि कसरी फलदायी हुनसक्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।
सङ्घीयता आम नेपाली जनताका लागि फलदायी नभए मुलुककै लागि बोझ हुने भएकाले चाहेर वा नचाहेर पनि सङ्घीयता टिक्न नसक्ने बताए। सरकारकै घटक दल नेपाली काँग्रेस समाजवादी मोर्चालाई लिएर सशङ्कित रहेको समयमा उनले मोर्चाले सरकारलाई कुनै असर नगर्ने दाबी गरे।
यसका साथै सम्पूर्ण वामपन्थी शक्ति मोर्चामा आबद्ध हुन सक्ने बताउँदै खनालले साझा धारणा नबनेसम्म मोर्चाबद्ध हुन सम्भव नरहेको बताए।