सिँचाइमन्त्री बस्नेतले गरे २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास - Chaitanya News
  • 2026-05-28
  • 13:33:10
  • बिहिबार,जेठ १४, २०८३
  • सिँचाइमन्त्री बस्नेतले गरे २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास

    सिँचाइमन्त्री बस्नेतले गरे २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास

    काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठुलो २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास गरेका छन्। उनले काठमाडौँमा आज (मंगलबार) आयोजित विशेष समारोहकाबीच आयोजनाको बाँधलगायतका संरचना (हेडवर्कस) निर्माण कार्यको शिलान्यास गरेका हुन्।

    रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका १ मा भूमिगत विद्युत गृहलगायतका संरचनाहरु निर्माणाधीन छन्। शिलान्यास समारोहमा बस्नेतले नेपालको जलविद्युत विकासमार्फत आर्थिक रूपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको उल्लेख गरे।

    मुख्य रूपमा हिउँदको विद्युत् माग पूरा गर्न आकर्षक रहेकाले नमुना आयोजनाको रूपमा तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने उल्लेख गर्दै उनले जलविद्युत क्षेत्रमा लगानी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आग्रह गरे।

    समारोहमा आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रूपमा खपत बढाइ अतिरिक्त भएको ऊर्जा छिमेकी देशहरुमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा ठुलो योगदान गर्न सकिने बताए

    समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग, लगानी बोर्ड, नेपाल, विद्युत् विकास विभागलगायतका उच्चपदस्थ पदाधिकारीहरू, नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क थियोङ, आयोजनामा ऋण प्रवाह गर्ने संस्थाका प्रतिनिधिहरू, निजी क्षेत्रका ऊर्जा उद्यमीहरूलगायतका उपस्थिति थियो