काठमाडौं– प्रतिनिधिसभाको पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले नेपालका नदी तथा खोलाबाट गिटी, बालुवा र ढुङ्गा उत्खनन नगरे भारत पुग्ने बताएका छन।
आज (सोमबार) न्यूज एजेन्सी नेपालले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताए। यस्तै उनले खोला, नदी र चुरे संरक्षण गरेर क्रसर उद्योग सञ्चालनको लागि आवश्यक गिटी, बालुवा र ढुङ्गा उत्खनन रोक्न नहुने समेत बताए।
नेपालका नदी तथा खोलाको गिटी, वालुवा र ढुङ्गा समयमा नै उत्खनन नगरे बगेर भारत पुग्ने र भारत धनी हुने उनको भनाइ छ।
‘खोला, नदीका गिटी, ढुङ्गाहरु समयमा नै उत्खनन् गर्न सकेनौं भने बालुवाको रुपमा भारत पुग्छ। त्यहाँबाट हामीले केही पाउँदैनौं। न त व्यवसाय गर्ने व्यवसायीहरुले रोजगारी दिन सक्नुहुन्छ। क्रसर उद्योगमा लागेर हजारौं नागरिकहरुले रोजगारी पाएका छन्। क्रसर उद्योग बन्द भए ती सबै मानिसहरु विदेश जानुपर्ने अवस्था आउँछ। राज्यले राजश्व पनि गुमाउँछ’, उनले भने।