लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्थ्यो : अर्थमन्त्री - Chaitanya News
  • 2026-11-16
  • 16:10:11
  • सोमबार,मंसिर ०१, २०८३
  • लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्थ्यो : अर्थमन्त्री

    लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्थ्यो : अर्थमन्त्री

    काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्ने बताएका छन।

    ११० औं बीपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरु विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले लुम्बिनी र पोखरा एयरपोर्ट भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको समेत बताए।

    हामीले पहिला लुम्बिनी र पोखरा एयरपोर्ट बनायौं,’ उनले भने, ‘सबैभन्दा पहिला हामीले निजगढ बनाउनु पर्दथ्यो। हाम्रो कतिपय प्राथमिकतालाई सही यकिन गर्न सकेका छैनौं।

    अबको ४ वर्षसम्ममा काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइसक्ने उनले बताए। ‘फास्ट ट्रयाक भएपछि ४५ मिनेटमा काठमाडौं आउन सकिन्छ, त्यो एयरपोर्टलाई हामीले उच्च प्राथमिकता दिनु नै पर्छ, ४ वर्षसम्म एयरपोर्ट बनाइसक्नेछौं’, उनले भने।

    नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना धेरै रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने मन्त्री महतले बताए।

    धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको उनले बताए। मन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको पनि बताए ।