नेता बिपी कोइराला नै मेरो राजनीतिक प्रेरणाको स्रोत : सभापति देउवा - Chaitanya News
  • 2026-11-16
  • 16:20:47
  • सोमबार,मंसिर ०१, २०८३
  • नेता बिपी कोइराला नै मेरो राजनीतिक प्रेरणाको स्रोत : सभापति देउवा

    नेता बिपी कोइराला नै मेरो राजनीतिक प्रेरणाको स्रोत : सभापति देउवा

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन्।

    आज (आइतबार) पार्टीले आयोजना गरेको तीन दिने ‘बिपी साहित्य महोत्सव’को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले बिपी आफैमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख समेत गरे।

    उनले भने, “उनी राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधैँ अजर र अमर नक्षत्रको रूपमा आज पनि स्थापित हुनुहुन्छ। उनको राजनीतिक चिन्तनले देखाएको मार्ग मै हामी हिँडेका औँ।”

    विपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको उल्लेख गर्दै उनले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएको बताए।

    महोत्सवले बिपीले प्रतिपादन गरेको राजनीतिक विचार, उनका साहित्यिक कृति, उनले भोग्नु परेका सङ्घर्षमय जीवन गाथा र उनको सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोणलगायतका विविध पक्षमा आजको युवा पुस्तालाई गहिरो ज्ञान बाँड्नेमा सभापति देउवाले विश्वास व्यक्त गरे।

    “बिपी सादा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो। हामीले उहाँलाई भेट्दा तिमीहरू ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्नुहुन्थ्यो। उहाँले मार्क्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग र आर्थिक समानताका सवालमा मार्क्सवादी चिन्तनलाई आवश्यक ठान्नुहुन्थ्यो”, सभापति देउवाले भने।