आज नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ११०औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। १९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्दैछन्। जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो।
भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा पनि भाग लिए। भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनविरुद्ध २००३ सालमा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो। प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसकाबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो। क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा वीपी गृहमन्त्री बने। २०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। यसैबीच, वीपीको ११०औं जन्मजयन्तीको अवसरमा आजदेखि तीन दिनसम्म वीपी साहित्य महोत्सव हुँदैछ। केन्द्रीय कार्यालय सानेपामा हुने महोत्सवको उद्घाटन बिहान ११ बजे कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन्। महोत्सवमा साहित्य, राजनीति, दर्शन, कुटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा बहस हुनेछ। आज बिपीको साहित्यीक योगदानको परिधिमा रहेर यज्ञराज जोशीले चैतन्य संवादमा नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीसँग संवाद गरेका छन्। मैनाली कुसल प्रशासक मात्र नभएर कुसल साहित्यकार एवम् समीक्षक पनि हुन्। उनले बिपीका बारेमा थुप्रै साहित्य सिर्जना एवम् समीक्षा पनि गरेका छन्। प्रस्तुत छ मैनालीसँग गरिएको चैतन्य संवाद:
नेपाली साहित्यमा बिपी कोइरालाको ठूलो योगदान छ, तपाईंले त बिपीका बारेमा थुप्रै समीक्षा पनि गर्नु भएको छ, सम्झनु पर्दा बिपीलाई कसरी सम्झिनु हुन्छ?
मैले बिपीसँग प्रत्यक्ष सम्पर्क गर्न पाइनँ। प्रत्यक्ष सम्पर्क गर्न नपाए पनि कृतिमार्फत उहाँलाई पढेको छु। मैले उहाँलाई सुम्नीमाबाट पढ्न सुरु गरेको हुँ। सुम्नीमामा पुलोमा र सोमदत्तको कथा, त्यसमा दुई प्रकारको नेपाली संस्कृतिको फिजन गरेको मनोविज्ञान पाएँ। दोस्रो कृति तीन घुम्तिमा उहाँले नारीका तीन मोड त्यसमा प्रस्तुत गर्नु भएको छ। नारीको उकुसमुकुस द्वन्द्व त्यसमा छ। अरु कथामा उहाँले पहिले चन्द्रवदना लेख्नु भयो। त्यो भन्दा पहिले हंस पत्रिकामा उहाँले उहाँ भन्ने कथा लेख्नु भएको थियो। त्यो हिन्दी भाषामा थियो। भारतमा उहाँ चिनजान शान्तिपृय दुभेदीसँग भयो। उहाँले प्रेम चन्द जस्तो महान साहित्यकारसँग चिनजान गराइदिनु भयो। यो बेलादेखि नै उहाँले रसियन र फेन्स साहित्य पढ्नु हुँदो रहेछ। तास्ट्वाय, अलबरकामु जस्ता महान साहित्यकारहरूको कुराबाट जीवन, अस्थित्व, मनोविज्ञान, सामाजिक संस्कृति, मानिस भित्रको मनोविज्ञानको विश्लेषण गर्ने सानैदेखिको उत्कन्ठा उहाँमा देखिन्छ। त्यो कुरा मैले पाएँ। हिटलर एहुदीमा शान्ति र युद्धको द्वन्द छ त्यस्मा। मोदिआइमा दुई धर्मको कुरा छ। स्वयत भैरवी, चन्द्र वन्दनालगायतका कथामा संस्कृति मनोविज्ञान, वर्गिय, लैङ्गिक विभेदका कुराहरू र विशेष मनभित्रको छटपटाहटका कुराहरू उहाँले पोख्नु भएको रहेछ।
मलाई मन पर्ने अरु महान साहित्यकार गुरुप्रसाद मैनाली, विश्वेश्वर प्रसाद कोइराला, पारीजात, लक्ष्मीप्रसाद देवकोटा मलाई औधि मन पर्नुहुन्छ। उहाँहरूको एक-एक विशेषता हेर्दा गुरुप्रसाद मैनालीको सामाजिक एथार्थवाद, देवकोटाको स्वच्छन्दतावाद र निजत्व, पारीजातमा अस्तित्ववादको खोजी पाइन्छ। तर, बिपीको साहित्यमा मैले मनभित्रको मान्छे पाएँ। राजनीतिमा उहाँले भौतिक वादलाई अवलम्बन गर्नु भयो। द्वन्दात्मक भौतिकवादबाट उहाँले शिक्षा लिनुभयो। अन्तत: साहित्यमा उहाँले मनभित्रको मानिसले खोजेको चेतना, उन्मुक्तिका कुराहरू पाएको छु। विश्वेश्वरका कथा पढ्दा अवचेत तहको चेतना उकुसमुकुस भएर बाहिर आउन खोजेको देख्छौं। मैले चिनेको विश्वेश्वर प्रसाद कोइराला महान साहित्यकार हुँदाहुँदै पनि साहित्यको मनभित्रको मानिसलाई बाहिर उजागर गर्ने व्यक्ति हुनुहुन्थ्यो। उहाँ मानिस कसरी मनभित्र गुटमुटिएको हुन्छ, कसरी पोखिन सकेको हुँदैन? पोखिन सकेन भने मानिस विस्फोट हुन्छ। उहाँका साहित्यमा त्यस्ता दमित इच्छाको मुक्ति खोज्ने विषय छन्।
बिपीको साहित्यका केस्रा-केस्रा तपाईंले केलाउनु भएको छ, उहाँलाई साहित्यमा अराजक सम्राटको रूपमा लिइन्छ तर त्यसरी अर्थ्याइएको पाइँदैन, तपाईंले के पाउनु भयो?
उहाँले साहित्यमा अलिकति अराजक छु भनेर उहाँ आफैले स्वीकारेको कुरा हो। उहाँले अराजक भन्न खोजे पनि कला कहिले अराजक हुँदैन। साहित्यमा त कला अभिव्यक्त हुने हो। बिपीको साहित्यमा विवेचना छ। विचलन छ। विर्यचन देख्छु। विर्यचनले भित्र गुम्साई बाहिर पोख्न खोजेको, आँसु पोख्न खोजेको, मनभित्रको छटपटाहट पोख्न खोजेको देख्छु। कला अनुसासनहिन रूपमा पर जाने होइन कि स्वयम् व्यक्तिलाई अनुशासित बनाउँछ। तर, निजत्वले उन्मुक्ति पाएन भने त्यो बेलामा उकुसमुकुस मनभित्र रहन्छ र व्यक्तिलाई कतिपय अवस्थामा विकृत र क्षतविक्षत बनाउने कुरा गर्छ। त्यो स्थिति नआओस् भनेर नै बिपीले आफूलाई अराजकतावादी भन्न खोज्नु भएको हो। कतिपय विद्वानहरूले विश्वेश्वर प्रसाद कोइरालाको कलाकारिताको, कथाकारिताको, आख्यानकारिताको अवमूल्यन गरेका छन्। हामीलाई अवमूल्यन वा अधिमूल्यनको दृष्टिकोणबाट हेर्दैनौं। विशुद्ध कलात्मकरुपबाट हेर्दा उहाँले अभिव्यक्ति गरेका कुरा बहुकलावादी छन्। त्यो कला पनि निजत्वको प्रकाशन गर्ने, आत्माको अभिव्यन्जन गर्ने कलाकारको रूपमा हामी देख्न सक्छौं। त्यसैले उहाँलाई भनिएको जस्तो अराजकतावादी कहिले पनि पाउन सकिन्। कला स्वयमले अनुशासनको रेखा कोर्छ भन्ने कुरा स्पष्ट देखेको छु। उहाँको साहित्यको केस्रा-केस्रा केलाउँदा विश्वेश्वर प्रसाद कोइराला आफैँमा एउटा राजनीतिको धरोधर व्यक्तित्व, प्रजातान्त्रीक समाजवादको व्याख्याता, राजनीतिको सगरमाथा जस्तै व्यक्तित्व हो उहाँ। नेपालको राजनीति आधा सताब्दी उहाँकै वरपर घुमेर बस्यो। तर, उहाँको साहित्य राजनीतिबाट अलिकति पनि आग्रही छैन। राजनीति छुट्टै पाटोतिर गइरहेको छ। बिपी मूल प्रवाहमा बगिरहनु भएको छ। एउटा किनाराबाट राजनीति जान्छ, अर्को किनाराबाट साहित्य। राजनीति र साहित्यको भेट कहिले पनि हुँदैन। त्यसैले उहाँ स्वच्छन्दतावादी साहित्यकार तर बस्तुवादी राजनीतिज्ञ हो। र, उहाँ समाजवादी चिन्तक हो।
बिपीले यौन मनोविज्ञानका कुरामा पनि समाजले लगाएको बार भन्दा पर गएर लेखेको पाइदैन। उहाँका सिर्जनामा मनोवैज्ञानिक चेतले आत्मीक मुक्ति खोजेको पाइन्छ।
बिपीको साहित्य पढ्दा अहिले कमजोर साहित्य सिर्जना भइरहेको भान हुन्छ, तपाईंलाई यो भनाइमा सहमत हुनुहुन्छ?
अहिले मानिसलाई साहित्य लेख्न निकै अभिरुची छ। तर, अध्ययन छैन। साहित्यमा थुप्रै मानिस आनु भएको छ। प्रविधिले पनि उहाँहरूलाई सघाएको छ। तर, अधिकांशको अभिव्यक्ति, कथानकता, लेखाई, सौन्दर्य, शिल्पी हेर्दा कालझैँ विचार र दृष्टिकोण अहिलेका अधिकांश साहित्यकारहरूले दिन सक्नु भएको छैन। केही साहित्यकार अहिले पनि बेजोड हुनुहुन्छ। कतिपय साहित्यकार प्रचार र प्रकासनको माध्यमबाट गुटमुटिएर बस्नु भएको छ। लुकेर बस्नु भएको छ। सतहमा देखिनु भएका पुरस्कार पाउने साहित्यकार अलि सेलिब्रेसनमा जाने देखिएको छ। लेख्ने साहित्य भन्दा हेर्ने साहित्य, पढ्ने साहित्य भन्दा प्रचार गर्ने साहित्यतर्फ हामीले बढी देखेका छौं। त्यसैले कहिले त साहित्य विधाबाट अविधातर्फ गइरहेको पनि भान हुन्छ। कथा भनेर कवितातर्फ गइरहेको, कविता भनेर कथातर्फ गइरहेको जस्ता छ्यासमिसे कुरा देख्न सकिन्छ। त्यसैले विश्वेश्वर जस्ता व्यक्तित्व भेट्न हामीले ठूलो अध्ययन गर्नुपर्छ। मैले रमेश विकलको यस वर्ष अनुसन्धानात्मक कृति लेखेको थिएँ। त्यो कृति लेख्दा रमेश विकलका ५५ कृति मैले अध्ययन गरे। उहाँको एउटा कृतिमा राम्रो कथा लेख्न तीन महिना लाग्छ भन्नु भएको थियो। अहिलेका साथीहरूले त एक दिनमा तीन कथा लेखिदिनुहुन्छ। तीन कविता लेखिदिनु हुन्छ। गद्य र पद्य कविता लेखिदिनु हुन्छ। पद्यमा लयात्मकता होला भाव छैन। गद्यमा अडिन पर्ने साङ्सारिकता र कलात्मकता छैन। अक्षरहरूको भारी छ, लालित्य छैन। जीवनदृष्टि छैन। बस्तुपरक भन्दा पनि अलिकति रोपुगरहरूको कुराहरू बढी पाउँछौं। बिपीले एउटा पात्रलाई उभ्याउनु हुन्छ। समाजलाई एउटा सानो विषयवस्तुबाट टिपेर त्यसलाई विस्तृतिकरण गर्दै ठूलो धरातलमा प्रवेश गराएर फेरि खुम्च्याएर एउटा आरोहमा पुर्याएर फेरि उत्कर्षमा पुर्याएर झार्नु हुन्छ र कथा टुङ्ग्याउनु हुन्छ। उपन्यास होस् वा कथा जहाँ सुकै त्यो शक्ति पाइन्छ। उहाँलाई शक्ति प्राप्त गर्न दुई कुराले सहयोग गरेको देख्न सकिन्छ। एउटा सानै जीवनदेखि उहाँले हन्डर खानुपर्यो। ठूलै परिवारमा जन्मिएर पनि चेतनाको कारणबाट बिपीले हन्डर खानुपर्यो। कृष्णप्रसाद कोइराको परिवार कहिले सिरहाको दुम्जा, कहिले विराटनगर, कहिले गोबराह, कहिले बनारस, कहिले दरभङ्गा, कहिले गुठी हुँदै उहाँको धेरै जसो जीवन निर्वासन वा जेलमा वित्यो। यसकारण उहाँले जीवनलाई राम्रोसँग केलाउन पाउनु भयो। जेलमा बस्दा उहाँको साथी किताव, अक्षर र चिन्तन त थियो। जेल जनरल, आत्मकथा पढ्दा पनि उहाँ अन्तरमुखी स्वभावको मानिस भएको पाइन्छ। जब उहाँको हजुर आमाले बाबु त निकै साहसिलो छ भनेपछि उहाँ साहस देखाउन अघि बढ्नु हुँदो रहेछ। जोखिम बढी लिने कार्यले उहाँमा उत्साह बढाउँदै गयो।
एक पटक उहाँ चुप लागेर बस्नु भएको रहेछ। बादल उडेर आएको देख्नु भयो। त्यसको चित्र कोरेको जस्तो गर्नुभयो। र, केही शब्द पनि कोर्नुभयो। जब शान्तिपृय द्विभेदीले त्यो कुरा देख्नु भयो उहाँले कति राम्रो कथा भन्नु भयो। त्यो पुस्तकलाई उहाँले नै प्रकाशन गरिदिनु भयो। विश्वेश्वर आफैँले त्यसमा कथा र कलाकारिता थिएन भन्नु हुन्थ्यो। आफूलाई हौस्याइएको र त्यसले ठूलो प्रेणा प्रदान गरेको उहाँले भन्नु हुन्थ्यो। बिपीको मनोविज्ञानलाई शान्तिपृय द्विभेदीले उकेरा दिनुभयो। त्यो उकेरा दिइसकेपछि प्रेम चन्दसँग चिनजान भयो। केही हिन्दी पत्रिकासँग उठबस भयो। त्यसपछि उहाँले हिन्दी साहित्य र अंग्रेजी साहित्यको लेखन सुरु गर्नुभयो। १९९२ देखि नेपाली भाषाको साहित्यमा हात हाल्नुभयो। उहाँले घरभित्र ठूलो पीडा भोग्नु भयो। घसायसी पीडा, बुवाको जागिरको पीडा, दाइहरूको पीडा, आमाहरूको पीडा। यी सबै पीडाले बाल रहर पुरा नभएको मानिसका रूपमा विकास गर्यो र यीनै कुराले उहाँलाई परिस्कृत साहित्यकारका रूपमा उभ्याइदियो। बिपीले यसरी १३ वटा उत्कृष्ठ कृति नेपाली साहित्यलाई दिनु भयो।
यौन मोविज्ञानमा बिपी बलियो सर्जक हुनुहुन्थ्यो, उहाँका साहित्य पढ्दा तपाईंले के पाउनु भयो?
यौन मनोविज्ञानको विश्लेषण उहाँको कथा र आख्यानमा पाइन्छ। आत्मकथामा पनि उहाँको त्यो झल्को छ। सुशीलाले भनेको मैले सबै थोक त त्याग्न सके तर नारीसँग हेलमेल हुने कुरा मैले त्याग्न सकेन भनेर आदर्श कुरा व्यक्त गर्नु भएको छ। अर्को कुरा उहाँले दुई कुराले जीवनमा ठूलो प्रभाव पार्छ भन्नु भएको छ। एउटा योग, एउटा योन। उहाँले योन पनि योगै हो भन्नु भएको छ। यौनलाई उहाँले इगो र सुपर इगो पनि भन्नु भएको छ। उहाँले यसरी चेत, अर्धचेत र अवचेतको मनोविज्ञानको कुरा गर्नु भएको छ। बिपीले यौन मनोविज्ञानका कुरामा पनि समाजले लगाएको बार भन्दा पर गएर लेखेको पाइदैन। उहाँका सिर्जनामा मनोवैज्ञानिक चेतले आत्मीक मुक्ति खोजेको पाइन्छ। उहाँका कथामा नारी पात्रले मनभित्र गुम्सीएका कुरा गरेको पाइन्छ।
वास्तविक रूपमा उहाँको कथामा पाइने प्रगतिशीलता के हो? प्रगतिशील साहित्यकार भनेर हामीले फेरि साम्यवादी नकाप लगाइदिन्छौं। त्यस्तो होइन। तात्कालिन समाजप्रति नयाँ मूल्य चेतको खोजी गर्ने व्यक्ति पो प्रगतिशील हुन्छ।
हृदयको दीव्यता झल्किएको देखिन्छ?
हो। हृदयको दीव्यताबाट उहाँले प्रयोग हुन नसकेका कुरालाई प्रयोग गर्नुभएको छ। ती कुरालाई कुनै मिथ, उपमा, विम्ब वा कुनै परिवेसको चित्रण गरेर उहाँले क्वाप्प झार्नु भएको छ।
कांग्रेसले बिपीको साहित्यको चर्चा पहिलो पटक गर्न थालेको छ, यहाँलाई यो कार्यक्रम कस्तो कस्तो हुनुपर्छ लाग्छ?
नेपाली कांग्रेसले पहिलो पटक विश्वेश्वर प्रसाद कोइरालाको साहित्य कारिताको चर्चा गर्न थालेको छ। यो गौरवको कुरा हो। कति साम्यवादी लेखकको साहित्य नभए पनि साहित्य भनेर चर्चा भएको कति सुन्छौं। तर, विश्वेश्वर जस्तो महान कथाकार र महान उपन्यासकारको राजनीतिक क्षेत्रबाट साहित्यको कहिले पनि चर्चा भएन। अलिअलि प्रदीप गिरीले गर्नुहु्न्थ्यो। हामी जस्तो राजनीतिमा नलागेका व्यक्तिले गर्थ्यो। तर, यस पटक कांग्रेसले बिपीको साहित्य योगदानको चर्चा गर्न लागेको विषय खुसीको कुरा हो। तर, मलाई त्यो कार्यक्रम कस्तो हुन्छ भन्ने थाहा छैन। त्यो कार्यक्रमका बक्ता कस्ता हुन्छन्, थाहा छैन। त्यो छलफलमा विश्वेश्वर प्रसाद कोइरालाको जीवन दृष्टि, उहाँले साहित्यलाई कसरी हेर्नु भएको छ। विश्वेश्वरको कथा, विश्वेश्वरको उपन्यासमा चर्चा गरिनुपर्छ।
बिपीको साहित्यलाई सामाजिक आयामबाट हेरौं। नारी पात्रको किसिमबाट विश्वेश्वरलाई हेरौं। अथवा समावेशीताको किसिमबाट विश्वेश्वरलाई हेरौं। मनोविज्ञानको कुराबाट हेरौं। आत्मकथाकार विश्वेश्वरको दृष्टिकोणबाट हेरौं। उहाँको आत्मकथाले कहिले पनि आत्मलाई स्वस्थापना गर्दैन। त्यसले आत्मरती प्राप्त गर्दैन। जहिले पनि उहाँले एथार्थ कुरामात्र लेख्नु भएको छ। अर्को बिपीको नारी पात्रको विषय आवस्। अर्को बिपीले बुद्धवादी दर्शन, भौतिकवादी दर्शन र मनोविज्ञानलाई तीन जम्कामा राखेर उहाँको साहित्यले यी कुरालाई कसरी फ्युजन गरेको छ भन्ने कुराबाट चर्चा गर्नुपर्छ। यी कुराको चर्चा राजनीतिक व्यक्ति भन्दा पनि साहित्यीक व्यक्तिहरूबाट हुनुपर्छ। वास्तविक रूपमा उहाँको कथामा पाइने प्रगतिशीलता के हो? प्रगतिशील साहित्यकार भनेर हामीले फेरि साम्यवादी नकाप लगाइदिन्छौं। त्यस्तो होइन। तात्कालिन समाजप्रति नयाँ मूल्य चेतको खोजी गर्ने व्यक्ति पो प्रगतिशील हुन्छ। प्रगतिशील जीवन दर्शनमा बिपीले के गर्नुभयो?, नारी शिक्षालाई बिपीले के गर्नु भयो? सांस्कृतिक समाविष्टमा बिपीले के गर्नुभयो? जस्ता कुरामा त्यहाँ कार्यपत्र प्रस्तुत गर्ने र विचार विमर्श प्रस्तुत गर्ने व्यक्तिहरू बिपीलाई बुझेको हुनुपर्छ। उहाँलाई देवत्व वा अवमूल्यन दुवै नगर्ने व्यक्ति हुनुपर्छ। यो त सुरुवात भयो आगामी दिनमा यस्ले निरन्तरता पाओस्।