काठमाडौँ– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती ऐन चाँडै संसदमा पास हुने बताएकी छन। आज (शुक्रबार) सिंहदरवारमा २० औं निजामती सेवा दिवसको अबसरमा आयोजित समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्। यस्तै उनले सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्त्वपूर्ण हुने समेत बताइन्।
उनले प्राविधिक कारणले सङ्घीय निजामती सेवा ऐन आउन ढिलाइ भएपनि सरकारले मन्त्रीपरिषदबाट पास गरी संसदमा पठाउने निर्णय भइसकेको भन्दै अब छिटै नै संसदबाट पारित भइ कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिन्।
उनले सङ्घीय निजामती सेवा ऐन लागू भइसकेपछि सङ्घीय निजामती सेवा मात्र नभई प्रदेश र स्थानीय तहसम्मको धेरै अन्यौलता पनि अन्त्य हुने बताइन्।
उनले भनिन्, ‘विकास, समृद्धि र सुशासनको व्यावसायिक र सृजनशील हुन जरुरी छ। निजामती प्रशासनले निर्वाचन सम्पन्न गर्न प्राकृतिक र सङ्कटको सफल व्यवस्थापन गर्न तथा राजनीतिक संक्रमणकालको व्यवस्थापन गर्न कोशेढुङ्गा प्रमाणित भइसकेको अवस्थालाई बिर्सिनु हुँदैन। सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्त्वपूर्ण हुने यथार्थ हो।’
मन्त्री देवीले ऐन पारित गर्न सबैको सहयोग र अपेक्षा राखेको पनि बताएकी छन् ।