सुर्खेत– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा गर्वमा साथ सिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा मात्रै भएकोबताएका छन्।
आज (शुक्रबार) सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह भएको समेत बताए।
लिङ्देनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमप्रति राप्रपाको समर्थन रहेको बताए। यद्यपि आदेश दिने, बाहिर देखाउनका लागि मात्र गर्नु नहुने उनको भनाइ छ।
सरकारलाई स्याबासी नै दिनुपर्ने अवस्था आएको छैन,’ उनले भने,‘ बरु सरकारले जरैदेखि उखेल्छ भने सरकारलाई राप्रपाले समर्थन मात्र होइन सरकारलाई अफ्ठेरो पर्दा समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्छ।
साथै कोशी प्रदेशको सरकार निर्माणको विषयलाई लिएर राप्रपाले बार्गेनिङ गरिरहेको विषयमा सत्यता नरहेको उनले स्पष्ट पारे। एक दुई थान मन्त्रीका लागि राप्रपाले बार्गेनिङ नगर्ने उनको भनाइ थियो।