काठमाडौं– अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य आज (शुक्रबार) हालसम्मकै उच्च भएको हो।
शुक्रबार एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ३४ पैसा पुगेको छ।
२१ भदौ बिहीबार डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो। यस्तै २० भदौ बुधबार खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा थियो। लामो समयदेखि १३२ रुपैयाँकै वरीपरि रहेको अमेरिकी डलरको विनिमय दर गत बुधबारबाट पछिल्लो तीन दिन लगातार बढेको छ।
यसअघि १ भदौमा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो।
नेपाल र भारतको स्थिर विनिमय दरको कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ।