काठमाडौं– नेकपा एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ।
पार्टी निर्णय अनुसार, सम्पूर्ण पार्टी पंक्तिलाई संविधान दिवसको उत्सवमा सहभागी हुन परिपत्र जारी गरिएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए। ‘नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट संविधान बनेको दिनलाई उत्सवका रुपमा मनाउँदैछौं, त्यही अनुसार परिपत्र भएको छ’, उनले भने।
केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष केपी शर्मा ओली सहभागी भएर नारायणचौंर काठमाडौंमा संविधान दिवस मनाउने कार्यक्रम तय भएको छ। संविधान जारी भएको दिन ३ असोजलाई उत्सवका रुपमा मनाउन प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गरिसकेको अधिकारीले बताए।
परिपत्रअनुसार जिल्लास्थित पार्क, शहीत स्तम्भ या आन्दोलन र संघर्षलाई स्मरण गराउने सार्वजनिक स्थलमा एमालेले राष्ट्रिय झण्डासहित पदयात्रा गर्नेछ। उक्त पदयात्रामा देशभक्तिपूर्ण गीतहरु बजाउने र राष्ट्रिय झण्डासहित सहभागी भएको तस्वीर सामाजिक सञ्जालमा राख्न परिपत्र गरिएको छ।