काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले व्यवस्था कमजोर बनाउन उठेका खुकुरीहरुलाई राम्रोसँग चिन्नुपर्ने बताएका छन। आज (बिहिबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले पुराना पार्टीहरु खराब हुन् भनेर कृत्रिम भाष्य तयार पार्ने कोसिस भइरहेको समेत बताए।
लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक आक्रमण सामान्य घटना नभएको बताए। उनले यसबारे सत्यतथ्य सहित आगामी बैठकमा जानकारी गराउन उपप्रधानमन्त्री तथा गृहमन्त्रीसँग माग गरे।
कांग्रेस प्रमुख सचेतक लेखकले अहिले जनता संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छैनन् भन्ने कृत्रिम भाष्य तयार पार्ने प्रयास भइरहेको समेत बताए। ‘आज पुराना पार्टी खराब हुन्, केही पनि होइनन् भन्ने कृत्रिम भाष्य तयार पार्ने कोसिस भइरहेको छ। यो नेपाली जनताको भावना र भाष्य होइन’ उनले भने, ‘संघीय लोकतान्त्रिक व्यवस्थामाथि आक्रमण गर्ने पूर्व तयारीका रुपमा नियोजित रुपले केही मानिसहरुले यो भाष्य तयार गर्दैछन्।
डेढ वर्षअघि स्थानीय निर्वाचनमा बहुसंख्यक गणतन्त्र पक्षधर मानिसहरु जितेको र ९ महिना पहिले भएको संसद र प्रदेशको निर्वाचनमा ९५ प्रतिशत गणतन्त्र पक्ष जितेको भन्दै उनले संघीय लोकतान्त्रिक व्यवस्थाबाट विचलित नहुने बताए।
लोकतन्त्र आजको दिनमा उत्कृष्ट व्यवस्था भएको भन्दै उनले यसमा कुनै व्यत्तिको केही कमजोरी भए व्यवस्थाले नै ठीक पार्ने समेत दाबी गरे।