नारी स्वतन्त्रताको एकमात्र पर्व : गौरा पर्व - Chaitanya News
  • 2026-04-30
  • 15:29:44
  • बिहिबार,बैशाख १७, २०८३
  • नारी स्वतन्त्रताको एकमात्र पर्व : गौरा पर्व

    नारी स्वतन्त्रताको एकमात्र पर्व : गौरा पर्व

    गौरा पर्व सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण सांस्कृतिक पर्व हो। भाद्र शुक्ल पञ्चमीका दिनदेखि विधिवत् रुपमा मनाउने कार्यको थालनी गरिएको गौरा पर्वमा महिलाहरुले पे्रमका प्रतिक शिव पार्वतिको पुजा आराधना गरेर मनाउने गर्दछन्। सफा, शुद्ध लुगा धारण गरी महिलाहरु जम्मा भई केलाइएको पञ्च अन्न (मास, गहुँ, केराउ, गहत, गुरास) मिसाएर तामाको भाँडोमा राखी प्रचलित नियमअनुसार भिजाउछन्। कुनै समुदायमा आ–आफ्ना घरमा र कुनै समुदायमा भने गौरा पुज्ने घरमा (गोरेघर) नै भिजाउने गरिएको पाइन्छ। त्यसको भोलीपल्ट षष्ठीको दिन बिरुडा धुन महिलाहरु चोखो भएर निराहार ब्रत बसी नजिकैको नदी, तलाउ, पँधेरो वा धारामा जाने प्रचलित मान्यता छ। धोएर ल्याएको बिरुडा घरको अध्याँरो कुनामा वा धेरै हावा नपस्ने ठाँउमा फिजाएर राखिएको हुन्छ, ताकी चाडैँ अङ्कुराओस् भनेर। यसरी भिजाउने, धुने काममा भने नितान्त महिला मात्रको सहभागिता हुन्छ। सप्तमीको दिन साझपख स्थानीय बाजागाजा सहित समुदायका सम्पूर्ण व्यक्तिहरु लस्करै लागेर भूमीको पुजन गरी धानबाली लगाएको खेतमा गई धानसँगै उम्रिने सौ (एकप्रकारको घाँस) लाई निगालाले बुनेको डालोमा राखी गौराको प्रतिमा बनाएर गीत गाउदैँ, नाच्दै, कुल देवी देवताहरुको जय जयकार गर्दै गौरा घरमा भित्र्याउने र दिनभरी निराहार ब्रत बसेका महिलाहरुले राती पण्डितको सहयोगमा पुजा, आराधना गर्ने गर्छन् र गौराको डालोमा पुजनका लागि राखिएको सप्तमी (सेतो धागोलाई हातले बुनेर बनाइएको एकप्रकारको माला) धारण गरेर घाटीमा बाँध्ने प्रचलन रहेको छ। शिव पार्वतीको कथा, प्रेम अनि विवाहको प्रसङ्का सगुनहरु गाउँदै विधिवत् तरिकाले शिव, पार्वतिको पुजा गरेर अष्टमीको दिन महिलाहरुले ब्रत लिने गर्दछन् भने पुरुषहरुले ठाडो खेल, देउडा खेल खेलेर मनोरञ्जन र संस्कृतिको जगेर्ना गर्ने तथा गौरा पुजनको प्रत्यक्ष भूमिकाभन्दा बाहिर बसेर साथ, सहयोग गर्ने गर्छन्। गौरा पुजनको सम्पूर्ण भूमिका महिलाहरुको हुने र पुरुषसत्ताको हस्तक्षेपबेगर आफ्नै तरिकाले यो चाड मनाउने हुनाले गौरा पर्वलाई महिला स्वतन्त्रताको सांस्कृतिक पर्व भन्न सकिन्छ।

    वर्षभरी घर र खेतबारीको काममा जोतिनुपर्ने बेफुर्सदिला महिलाहरु समय र कामको हिसाबले भदौ महिनामा फुर्सदिला हुन्छन् र अलि सुस्ताउन पाउँछन्। फुर्सदिला हुने हुनाले समुदायको सल्लाहअनुसार अनुुकुल समय पारेर ३ ५ ७ दिनसम्म गौरा मनाउने गरिन्छ। विधि–विधानअनुसार पुजाआजा र आराधना गरिएको गौरादेवीलाई समुदायका व्यक्तिहरुले अनुुकुल समयमा अगाडी अगाडी घर घरबाट गोरेघरमा जम्मा गरेका झण्डा बोकेर बच्चाहरु, कन्याहरु र घरका पाका पुरुषहरु जाने र पछिल्तिर महिलाहरु लामबद्ध भएर सगुन गाउँदै गौराको डालो र महेश्वर बोकेर साझँको समयमा कुलदेवताका मन्दिरमा विसर्जन गर्छन्। प्रसादस्वरुप गौरादेवीलाई पुजन गरिएको बिरुडा, फलफूल र सप्तमीको दिन भित्र्याएको सौँलाई शिरमा राख्दछन्। २०८० सालको गौरापर्व भने दुई चरणमा विभाजन भएको छ, पञ्चाङ्क निर्णायक समितिको निर्णय मान्नेले भदौ ७ गते र नमान्नेहरुले भदौ २१ गते मनाउने तयारी गरेका छन्, यस हिसाबले यो वर्षको भदौ महिना गौरामय, उल्लासमय भएको छ। विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने गौरा पर्व बसाई सरेर आएका समुदायले तराईका जिल्लाहरुमा, राजधानी र विदेशी भूमिमा पनि मनाउने गरिएको देखिन्छ।

    गौराको पुजा गर्नाले नि सन्तान दम्पतीलाई सन्तान प्राप्ति हुने, मनोकाक्षां पूर्ण हुने जनविश्वास लोकसमुदायमा रहेको छ। पौराणिक कालमा पार्वतिले नदी किनारमा निराहार ब्रत बसी पुजा, आराधना र तपस्या गरी भगवान् शिवलाई पतिको रुपमा प्राप्त गरेको किवदन्तीं रहेको छ। भारतको कुमाऊ क्षेत्रमा र नेपालको सुदूरपश्चिम क्षेत्रमा भव्यताका साथ मनाउँदै आएको र्गारापर्वमा बेहुलीको भेषमा गौरादेवीलाई र शिवको प्रतिमाको रुपमा महेश्वरलाई पुज्ने प्रचलन रहेको छ, गौरादेवीलाई रातो, पहेलो, सेतो वस्त्र चढाएर, घुम्टी धारण गराएर श्रृङ्गारका साधनले सिगारी दिने प्रचलन रहेको छ। स्थानीय फलहरु सुन्तला, मौसम, अम्बा, काक्रा, दारिम, नास्पति, चुक, भाङ, धतुरो, बेलपत्र, पैयु आदि र समयअनुसारका फूलहरु चढाएर पुज्ने गरिन्छ। अठेवाली समाप्त भएपछि पुरुषहरुले जनै धारण गरेजस्तै महिलाले जनैको समानान्तरतामा घाटीमा दुबधागो बाध्ने गर्छन्। विवाहित महिलाले मात्रै धारण गर्ने दुबधागो एकपटक लगाईसकेपछि छोड्न मिल्दैन र हरेक वर्षको गौरा पर्वमा नयाँ फेरिरहनुपर्ने हुन्छ। महिलाहरुले दुबधागो धारण गरिसकेपछि पुजा आराधना गरेको ठाउँबाट चढाइएका फल, फूल र बिरुडा झिकेर ठूलो कपडामा राखी पुरुषहरुले फट्काउने, अन्य व्यक्तिहरुले हात, आचल, टोपी आदि थाप्ने गरिन्छ, यसरी फट्काइएको प्रसाद प्राप्त गर्ने व्यक्ति भाग्यमानी हुने र अधुरा कामहरु सम्पन्न हुने लोकमान्यता छ।

    ब्रतालु महिलाहरुले अठेवाली सम्पन्न गरेर बिरुडाको प्रसाद लिईसकेपछि ज्येष्ठ व्यक्तिबाट पालैपालो बिरुडाले पुजिदिने र सुख, शान्ति र आरोग्यताको आशिर्वाद दिने गरिन्छ। धेरैजसो समुदायमा हर्ष उल्लासका साथ गौरा पर्व मनाइए पनि दलित समुदाय र अन्य केही समुदायमा भने यो पर्व वर्जित छ, सभ्रान्त र अभिजात वर्गले मनाउने गौरा पर्व जातीय विभेदको पर्व पनि हो। वर्जित गरिएको समुदायका व्यक्तिले कथित अभिजात वर्गको देउडामा सहभागिता जनाउँदै देउडा खेलेर रमाइलो गर्ने छुट भने छ र अभिजात वर्गले प्रसादको रुपमा दिएको बिरुडा ग्रहण गरेर पुज्ने र प्रसाद स्वरुप खाने गर्छन्। यसरी गौरा अष्टमी र विसर्जनको दिन स्थानीय धामी झाक्रीहरुमा देवता चढ्ने लोकविश्वास पनि छ। गौरा सुदूरपश्चिम प्रदेशको पहिचान बोकेको पर्व हो, यो पर्व रमाइलोका लागी मात्र नभएर परम्पराको जिवित इतिहास झल्किने र अबशेषहरु भेटिने गर्छन्। गौरामा गाइने फाग, सगुन, ऐतिहासिक व्यक्तिहरुको चरित्रगाथा, देउताका फागहरुले गाउँ नै गुञ्जायमान हुन्छ, पुस्तान्तरण हुदैँ आएको गौरा पर्वमा स्थानीय क्षेत्रका रहनसहन, भेषभुषा र भाषाको झल्को देखिन्छ। भातृत्व, सद्भाव र भावनात्मक सम्बन्धको डोरी निकै कसिलो बनाउने गौरा पर्वमा मौलिकता, साहित्य र संस्कृतिको उच्चतम छाप देखिन्छ भने गौरामा वृद्ध, बालक, युवा, महिला, पुरुष हरेक व्यक्तिहरुले मनोरञ्जन गर्ने गरिन्छ।

    महिला स्वतन्त्रताको पर्व

    हिन्दुधर्मका कतिपय मल्ूय, मान्यता र सांस्कृतिक पर्वहरु स्त्रीद्धेषी छन् भन्दा फरक पर्दैन, जन्म संस्कारदेखी मृत्युसंस्कारसम्म महिलालाई उत्पीडन र शोषण गर्ने खालका छन्, कतिपय ठाउँमा अझैपनि कुलदेवताको मन्दिरमा महिलाहरुलाई पुजामा सहभागिता जनाउन वर्जित गरिएको देखिन्छ। सुदूरपश्चिम प्रदेशमा मनाइने पर्वहरुमध्ये गौरा पर्व एकमात्र महिला स्वतन्त्रताको पर्व हो। बिरुडा भिजाएको पञ्चमीको दिनदेखी विसर्जन गरेको दिनसम्म महिलाहरु नै मुख्य भूमिकामा रहने गर्छन्। बिरुडा भिजाउने, बिरुडा धुने, गौरा भित्र्याउने, अठेवाली पार्ने, घरका हरेक सदस्यको बिरुडाले पुजेर आशिर्वाद दिने र विसर्जन गर्ने जस्ता हरेक कार्यमा महिला मात्रको सहभागिता हुन्छ, यी घेराभन्दा बाहिर रहेर पुरुषहरुको पनि साथ नहुने भने होइन। ग्रामीण समाजमा सिमित व्यक्तिबाहेक अरुको आर्थिक अवस्था निकै कमजोर छ, गरिबी छ, वर्षभरी परिवारको छाक टार्न खाद्यान्नको अभाव छ। खानै नपुग्ने परिवारमा महिनैपिच्छे नयाँ लुगा किन्ने सामथ्र्य हुने कुरै भएन तर गौरा पर्वकै लागी भनेर रीन गरेर भएपनि घरका हरेक सदस्यका लागी नयाँ लुगा किन्ने प्रचलन गाउँघरमा अझै पनि यथावत् छ।

    एकमहिना अगाडी देखी नै बच्चाहरुमा नयाँ लुगा लगाउन पाइने सम्भावनाले खुसियाली छाएको हुन्छ। वर्षभरी घरायसी र खेतबारीको कामले बेफुर्सदिला ग्रामीण महिलाहरु भदौ लागेसङ्गै अलि फुर्सदिला हुने र कामको चाप कम हुने हुनाले यो पर्वमा स्वतन्त्रताको अनुभूति गर्छन्। घरको कामले बेफुर्सदिला महिलाहरुलाई गौरा पर्वको समयमा भने घास काट्ने, वस्तुभाव हेर्ने, घरधन्दा गर्ने काममा पुरुषहरुले मन खोलेरै सहयोग गर्छन् र गौरे एकादशी देखी गौरा विसर्जनसम्म रातभर पनि देउडा खेल्नलाई छुट दिइएको हुन्छ। गौरापर्वलाई सांस्कृतिक पर्वका रुपमा हेरे पनि यसले सामाजिक एकतालाई मजबुत बनाएको छ। कुनै ठाउँमा महिला र पुरुषले एकै समूहमा देउडा खेलेपनि कुनै ठाउँमा भने अलग अलग समूहमा खेल्ने परम्परा छ। महिलाले खेल्ने देउडा खेलमा भने नारी भएर समाजमा बाच्ँनु परेको अप्ठ्यारो, पराइघरका दुःख, नारी शोषण, नारी उत्पीडन र चुलोचौकोमा सिमित हुनुपर्दाको नारी पिडाको भाव देउडामार्फत् व्यक्त गरेको पाइन्छ। पुरुषसत्तात्मक समाजमा यो पर्वमा जसरी महिलाहरुको अन्य कुनै पर्वमा पनि स्वतन्त्रता र मुख्य भूमिका हुदैँन, यसकारण पनि गौरा पर्व महिलाहरुका लागी विछट्टै रमाइलो गर्ने, खुसियालीको र स्वतन्त्रताको पर्व हो।

    (सुदूरपश्चिमका कतिपय स्थानमा आज पनि गौरा पर्व मनाउँदै छन्)