काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई काँग्रेसको पूर्ण समर्थन रहेको बताएका छन।
आज (मँगलबार) नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सरकारले काँग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने समेत प्रष्ट पारे।
काँग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन। हामी भ्रष्टाचाररहित राष्ट्र चाहन्छौँ, अहिले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरण अभियानमा काँग्रेसको पूर्ण समर्थन छ’, महामन्त्री थापाले भने, ‘जनप्रतिनिधिले राम्रोसँग काम गर्नुस्, पार्टी आफैँ मजबुत बन्दै जान्छ, तपाईंहरूले काम गर्नुभएन भने समस्या हुने हो।’
महामन्त्री थापाले अहिले तीन वटै सरकारमा काँग्रेसको प्रतिनिधित्व रहेको हुँदा जनगुनासो आउने काम गर्न नहुने बताए। जनताले जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेको हुँदा नागरिकको न्यूनतम आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए। उनले जनप्रतिनिधिले जनताको मर्मअनुसार काम नगरे पार्टी र व्यक्ति दुवै सकिने बाटोमा जाने बताए।
तीनै तहको सरकारले काम गर्ने हो भने पाँच वर्षको अवधिमा मुलुकमा ठूलो परिवर्तन आउने भन्दै महामान्त्री थापाले आगामी निर्वाचनका लागि भर्खरै आत्तिनुपर्ने अवस्था नभएको बताए। स्यानीयस्तरबाटै पार्टी सङ्गठन मजबुत बनाउन लाग्ने र कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्नेमा थापाको जोड छ।
बागलुङको कार्यक्रम सकेर पर्वत पुगेका महामन्त्री थापाले कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै रूपान्तरण अभियानमा जुट्न आह्वान गरे।
महामन्त्री थापाले पार्टीको आउँदो महाधिवेशनले उम्मेदवार छनोटको प्रक्रिया बदल्ने र त्यसपछि गुटबन्दी अन्त्य भएर जाने विश्वाससमेत व्यक्त गरे। स्थानीय तहदेखि संसदीय निर्वाचनमा उम्मेदवार बन्नेरबनाउने प्रणाली परिवर्तन गरेपछि मात्रै गुटबन्दी अन्त्य भएर जाने उनको भनाइ छ।