काठमाडौँ– नेपाली काङ्ग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले निजामती एन कर्मचारीको पक्षमा हुनुपर्ने बताएका छन्।
आज (मँगलबार) नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दैउनले ‘सिन्डिकेट’ का आधारमा नभई कर्मचारीको पक्षमा हुनुपर्ने बताएका हुन्। यस्तै उनले धेरै वर्षपछि निजामती ऐन आउन लागेको भन्दै सबै जना अटाउने र सबैलाई समेट्ने गरी ऐन आउनुपर्ने समेत बताए।
उनले भने, ‘धेरै वर्ष पछाडि निजामती ऐन आउँदैछ, तर यो सिन्डिकेटका आधारमा आउनु हुन्न कर्मचारीको पक्षमा हुनुपर्छ, हामी तपाईँहरूको पक्षमा लड्छौं भनेर हामी प्रतिबद्धता जनाउन चाहन्छु। कानून बनेका दिनदेखि लागू हुनेगरी ल्याउनु पर्छ । कर्मचारी ऐन सबै जना अटाउने र सबैलाई समेट्ने खालको हुनुपर्छ।
त्यसमा राज्य व्यवस्था समितिको सभापतिको हैसियतमा सबैसँग समन्वय गरेर काम गर्ने छु।’
नेता खतिवडाले पार्टीमा एकले अर्कोलाई गाली गरेर पार्टी दरो नबन्ने भन्दै बाहिर पार्टीका नेताको आलोचना नगर्ने हो भने आधा समस्या समाधान हुने दाबी गरे। उनले भने, ‘अब सरकारमा सुशासनका लागि ल्यारक्याल लामा जस्तालाई नियुक्ति गरेर होइन, अन्य कामबाट सुशासनको अनुभूति दिन सक्नुपर्छ। पार्टीमा एकले अर्कालाई गाली गरेर पार्टी दह्रो बन्दैन। आन्तरिक रूपमा पार्टीमा मनमुटाबहरू छन् भने पार्टीभित्र नै त्यसको समाधान गर्ने गरौं तर जनताको बीचमा जाँदा एक भएर जाने हो भने सबै समस्या ठिक हुन्छ।