मकवानपुर– नेपाली कांग्रेस बाग्मती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन। उनले आज (मंगलबार) सामजिक सञ्जाल फेसबुकमार्फत् काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामासमक्ष राजीनामा पेस गरेको तस्बिर सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन।
उनले राजीनामा दिनुको खास कारण भने खुल्न सकेको छैन। उनले प्रमुख सचेतकको भूमिकाले पार्टी सङ्गठनको काममा समय दिन नसकेका कारण जनसेवामा समय अभाव महसुस भएको बताएका छन।
प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु। अत: केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली नागरिकको सेवामा थप समर्पित हुन यो पदबाट राजीनामा दिएको छु। यस बीचमा सहयोग गर्नुहुने नेपाली कांग्रेस, बाग्मती प्रदेशका सम्पूर्ण माननीय र सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ’ उनले लेखेका छन।