काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्याउन र सामाजिक सञ्जालमा जथाभाबी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै काममा बाधा नपुर्याउन आग्रह गरेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो ।
चालकसँग सवारी पास नभएकाले अबदेखि सवारी पास बोकेर हिंड्नू भन्दै ट्राफिक प्रहरीले छाडिदिएका थिए।
सोमबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन र जथाभाबी वक्तव्यबाजी नगर्न भनेको हो।
विज्ञप्तिमा लेखिएको छ, ‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा नपुर्याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरूमा जथाभाबी वक्तव्यबाजी नगर्नुरनगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।’
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नु पर्ने नियमसमेत सम्झाएको छ ।
बालेनले लगत्तै सिंहदरबारमा आगो लगाइदिने भन्दै धम्कीपूर्ण स्ट्याटस सामाजिक सञ्जालमा राखेका थिए । उनले उक्त स्ट्याटस भने अहिले फेसबुकबाट हटाइसकेका छन्।
