काठमाडौँ– सभामुख देवराज घिमिरे र नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभबीच आज सिंहदरवारमा शिष्टाचार भेट भएको छ। भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदानलगायतका विषयमा छलफल भएको छ।
सभामुख घिमिरेले रुसी महासङ्घ नेपालको पुरानो मित्र भएको बताउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरे। उनले नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको बताउँदै रुसी सहयोगका लागि नेपाल तथा नेपाली जनताको तर्फबाट आभार व्यक्त गरे।
सभामुख घिमिरेले सन् २०१५ को भूकम्पको समयमा राहत र उद्धार तथा भूकम्पपछिको पुनर्निर्माणमा प्राप्त भएको रुसी सहयोग र कोभिड १९ संक्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकोमा रुसी महासङ्घलाई धन्यवाद दिए।
राजदूत नोभिकोभले गएको अप्रिलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण संसदीय आदान प्रदानका लागि महत्त्वपूर्ण रहेको बताए। उनले अध्यक्ष तिमिल्सिनाको भ्रमणमा भएको सहमति कार्यान्वयन गर्न रुसबाट उच्चस्तरीय भ्रमणको तयारी भएको जानकारी दिए।