प्रदिप पौडेलले भने: नेतृत्व नसच्चिए पार्टीको भविष्य संकटमा पर्छ - Chaitanya News
  • 2026-11-16
  • 17:20:25
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रदिप पौडेलले भने: नेतृत्व नसच्चिए पार्टीको भविष्य संकटमा पर्छ

    प्रदिप पौडेलले भने: नेतृत्व नसच्चिए पार्टीको भविष्य संकटमा पर्छ

    नवलपुर — नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले नेतृत्व नसच्चिए पार्टीको भविष्य संकटमा आउने बताएका छन। पूर्वी नवलपरासीको कावासोतीमा नेपाली कांग्रेस नगर समितिले आयोजना गरेको सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले जनचाहनाको कदर गर्दै भ्रष्टाचारको मुद्दामा निर्मम नहुने र नेतृत्वले निर्णयमात्रै लाद्ने काम भएकोले कार्यकर्ता तथा शुभेच्छुकहरुमा असन्तुष्टि बढेको समेत बताए।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले कार्यकर्ताको चाहनाविपरीत नेतृत्वले निर्णय लाद्न खोजेमा पार्टीको भविष्य संकटमा पर्ने बताएका छन्।

    ‘पार्टीको सिद्धान्तअनुसार वडा तहदेखिको सुझावलाई मनन् गरेर केन्द्रले योजना बनाउनु पर्ने हो,’ उनले भने, ‘तर अहिले केन्द्रले कार्यकर्ता र जनचाहनाविपरीत निर्णय गरेर कार्यकर्तालाई जबरजस्ती लाद्न खोज्दा कार्यकर्ता तथा शुभेच्छुकहरुमा असन्तुष्टि बढेको छ।

    पछिल्लो समय पार्टीलाई सुधारको पक्षमा लैजान खोजे पनि विधान नै नेतामुखी र गुटलाई प्रशय दिने खालको भएको पौडेलको आरोप छ। वडादेखि केन्द्रीय सभापतिसम्म क्रियाशील सदस्यले प्रत्यक्ष मतदान गरेर नेतृत्व चयन गर्नेगरी विधान संशोधन नभएसम्म अहिलेको गुट र नेतामुखी प्रवृत्ति नहट्ने पौडेलको तर्क छ।

    प्रतिनिधि चुन्ने र सीमित प्रतिनिधिले मतदान गरेर नेतृत्व चयन गर्ने परम्पराले पार्टी कार्यकर्तामुखीभन्दा नेतामुखी भएको भन्दै उनले असन्तुष्टि पोखे। कार्यकर्ताले चर्को दबाव नदिएसम्म नेतृत्व नसुध्रिने भन्दै तल्लोस्तरबाट नै नेतृत्वलाई खबरदारी गर्न उनले आग्रह गरे।