काठमाडौँ — नेपाली कांग्रेसमा ६५ भन्दा बढी विभाग भए पनि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति मातहत रहेका ६५ भन्दा धेरै विभाग गठन गरेका छैनन्। सामान्यतः पार्टीको उद्देश्य प्राप्ति र त्यसका लागि सभापतिलाई सहयोग पुर्याउने हिसाबले राजनीतिक दलहरूभित्र विभाग गठनको अभ्यास छ।
कांग्रेस विधानले महाधिवेशन भएको ६ महिनाभित्र यस्ता विभागहरू गठन गर्ने र जिम्मेवारी तोक्ने अधिकार सभापतिलाई दिएको छ। तर सभापति देउवाले विगतदेखि नै पार्टीका विभागहरूको गठन र जिम्मेवारी प्रदान गर्नेमा अरुचि देखाउँदै आएका छन्। यसपटक केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेरै विभाग गठनको डेडलाइन तोकिदिए पनि देउवाले वास्ता गरेनन्।
कांग्रेसको १४ औँ महाधिवेशन भएकै साढे २० महिना बितिसकेको छ। यदि सभापतिको अधिकार प्रयोग गरेर देउवाले केन्द्रीय कार्यसमितिका नेताहरूलाई विभागमा जिम्मेवारी प्रदान गरेको भए विभागले एक वर्षदेखि काम गरिरहेका हुन्थे। तर देउवाले विधानबमोजिम विभाग गठनमा बेवास्ता देखाएपछि साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमिति बैठकले एक महिनाभित्र विभाग गठन गर्न सभापतिलाई झक्झकाएको थियो । तर बैठकले दिएको समयसीमामा पनि सभापति देउवाले विभागलाई पूर्णता दिएका छैनन्।
नेताहरूका अनुसार तत्कालै विभाग गठनको तयारीसमेत छैन। सहमहामन्त्री महालक्ष्मी उपाध्यायले तत्कालै विभाग गठनको तयारी नरहेको बताइन्। ‘केन्द्रीय समितिले भदौ १५ भित्र गठन गर्ने भनेको हो । तर त्यसपछि फेरि छलफल भएको छैन,’ उनले भनिन्, ‘तत्काल गठन भइहाल्ने मैले बुझेको छैन।
हाल कांग्रेसको केन्द्रीय कार्यसमिति १५७ सदस्यीय छ भने १३ पदाधिकारी छन्। तर केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका सहमहामन्त्रीहरूले नै भूमिका नपाएको भन्दै विभाग गठन गरेर जिम्मेवारी बाँडफाँड हुनुपर्ने विषय उठेको थियो। केन्द्रीय सदस्यहरूले त पार्टीमा भूमिका नपाएको भन्दै गुनासो नै गरेका थिए। ‘पार्टीका विभाग किन गठन हुँदैनन्? भ्रातृ संस्था किन गठन हुन सकिरहेका छैनन्? हाम्रो बैठकसमेत समयमा बस्ने सकिरहेको छैन, यस्तो के कारणले भइरहेको छ?’ बैठकमा केन्द्रीय सदस्य हरिशरण नेपालीले प्रश्न गर्दै भनेका थिए, ‘म केन्द्रीय कार्यसमितिको सदस्य त हुँ। तर मैले १० महिनादेखि काम पाएको छैन।’
विधानअनुसार कांग्रेसका ४८ विभाग छन्। तर यसपटक बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले विधानले व्यवस्था गरेकोमा २० वटा विभाग थप गर्नुपर्ने प्रस्ताव गरेका थिए। बैठकले महामन्त्रीले प्रस्ताव गरेकामध्ये कार्यक्षेत्र बाझिने र डुप्लिकेसन हुने केही विभागको नाम कटाएर विभाग थप गर्ने निर्णय गरेको थियो।
तीमध्ये अहिलेसम्म एउटा विभागमात्रै गठन भएको छ– सूचना, सञ्चार तथा प्रचार विभाग। सभापति देउवाले पार्टीको प्रवक्ता रहेका प्रकाशशरण महत अर्थमन्त्री भएपछि पार्टीबारे बोल्ने व्यक्ति नभएको भन्दै केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई सो विभागको प्रमुख तोकेका थिए। त्यसयता विश्वकर्माले नै प्रवक्ताले गर्ने काम गर्दै आएका छन्। विधानमा केन्द्रीय सभापतिले हरेक विभागको प्रमुख, उपप्रमुख र एक जना सचिवसहित सदस्यहरू मनोनीत गर्ने व्यवस्था छ। विभागहरू बढीमा ५१ सदस्यीयसम्म हुने विधानको व्यवस्था छ।
प्रचार विभाग प्रमुख विश्वकर्माले केन्द्रीय समितिमा प्रस्ताव आएबमोजिम कांग्रेसमा अब विभागको संख्या ६५ भन्दा बढी पुगेको बताए। ‘पहिले विधानमा ४८ विभाग हुन्। त्यसमा अहिले २० वटा थप्न आएको प्रस्ताव बैठकले स्वीकृत गरेको थियो,’ उनले भने, ‘तर तीमध्ये केही डुप्लिकेसन भएका छन्। यसरी हेर्दा विभागको संख्या ६५ को हाराहारी हुन्छ।’
यसरी हेर्दा सभापति देउवाले ६५ विभागमा केन्द्रीय पदाधिकारी, सदस्यहरूसहित तीन हजारभन्दा धेरै नेता कार्यकर्तालाई जिम्मेवारी दिन सक्छन्। जसले पार्टी संगठनलाई मजबुद पार्न भूमिका खेल्न सक्छन्।
तर पार्टीभित्र सबै पक्ष र नेताहरूको चाहनालाई समेटेर विभाग गठन गर्नुपर्ने भएकाले केही दिन ढिला भएको प्रचार विभाग प्रमुख विश्वकर्मा बताउँछन्। ‘अब विभाग गठन गर्ने भन्ने मनस्थिति बनेको छ। तर ठ्याक्कै कहिले भनेर निश्चित छैन,’ उनले भने, ‘सभापतिज्यूले त्यसबारे पदाधिकारी र शीर्ष नेताहरूसँग छलफल गर्न खोजिरहनुभएको छ, नेताहरू बाहिर भएकाले समय मिलेको छैन। पहिले छलफलपछि अनि विभाग गठनको प्रक्रिया अघि बढ्छ।
त्यसो त सभापति देउवाले पार्टीको सभापतिकारूपमा पहिलो कार्यकालमा समेत विभाग गठनमा ढिला गरेका थिए। त्यसबेला विभाग गठनका विषयमा नेताहरूबीच भागबन्डा नमिल्दा पटक–पटक गरी विभाग गठन भएको थियो भने विभाग गठन भइसक्दा अर्को महाधिवेशनको मिति नै तय भएको थियो, विभागले काम गर्नै पाएनन्।