काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म पास हुन नसक्ने बताएका छन्। आज (बुधबार) काठमाडौंमा टुरिस्ट बस एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप शुभारम्भ कार्यक्रममा बोल्दै उनले पयैटन बोर्डले बजेट सुधार नगरेसम्म पास नहुन बताएका हुन्।
बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीप्रति लक्षित गर्दै उनले बोर्डको बजेट कमिसनको दुनो सोझाउनको लागि बनाइएको टिप्पणी गरे। ‘अहिले नै बोर्डको बजेट हतारमा पास गरेर फेरि पनि कसैको दुनो सोझ्याउनको लागि आउँदैन। भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको होइन’ किराँतीले भने ‘मैले सुरुमा नै बोर्डमा आएर भनेको छु। भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग छ। पर्यटन विभागले पर्यटनसम्बन्धी भौतिक संरचना निर्माण गर्ने हो। पर्यटनको प्रवर्द्धन बोर्डले गर्ने हो।
बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य हुने उनले बताए। आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचनामा हुने कमिसनको खेल शून्य बनाएर छाड्ने उनको भनाइ छ। पर्यटन बोर्डका माथिल्ला कर्मचारीहरुले बजेट दुरुपयोग गर्ने गरेको उनले बताए। ‘पर्यटन बोर्डको पैसा माथि चयन गर्ने सुविधा कसैलाई छैन। आफू त घुम्छन्। त्यति मात्रै होइन आफ्नो साली, साढुभाई घुमाउने, मित बुबा र आमा घुमाउने कसैलाई छुट छैन’ उनले भने ‘विदेशमा जाने महँगा रक्सी, घडीहरु र मोबाइल ल्याएर बाँड्ने र बेच्ने सुविधा पनि कसैलाई छैन।’ पर्यटन प्रवर्द्धनको लागि चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्ने आवश्कता रहेको उनको भनाइ छ।