बजेट र योजनाबीच तालमेल भएन : अध्यक्ष तिमिल्सिना - Chaitanya News
  • 2026-11-16
  • 18:33:02
  • सोमबार,मंसिर ०१, २०८३
  • बजेट र योजनाबीच तालमेल भएन : अध्यक्ष तिमिल्सिना

    बजेट र योजनाबीच तालमेल भएन : अध्यक्ष तिमिल्सिना

    काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बजेट र योजनाबीच तालमेल नभएको बताएका छन। आज (मंगलबार) दिगो विकाससम्बन्धी राष्ट्रसंघीय आगामी शिखर सम्म्ेलनमा प्रस्तुत गर्ने कार्यसूची तथा भावी रणनीतिसम्बन्धी आयोजित परामर्श गोष्ठीमा कोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले दिगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।

    उनले तोकिएको समयावधिभित्र दिगो विकास लक्ष्य प्राप्त गर्न अहिले योजना कार्यान्वयनको गतिमा सुधार र सक्रियताको खाँचो औँल्याए।

    अध्यक्ष तिमिल्सिनाले भने, “बजेट र योजनाबीच तालमेल छैन, बजेट विनियोजनमा इमान्दार प्रयत्न हुनुपर्छ, अबण्डमा बजेट राखेर कसरी दिगो विकास लक्ष्य प्राप्त हुन्छ। कृषियोग्य समथर जमिनमा बस्ती बसाल्ने भिरपाखामा खेती गर्ने कार्यले खाद्य सुरक्षा हुनसक्दैन।

    अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र दिगो विकासका लक्ष्य प्राप्ति हुने ढङ्गबाट आयोजना छनोट गरी सामाजिक न्यायका आधारमा बजेट विनियोजन गर्न सरकार र राष्ट्रिय योजना आयोगलाई उनले सुझाव दिए।

    यस्तै उपाध्यक्ष उर्मिला अर्यालले दिगो विकास लक्ष्य प्राप्त गर्न वडादेखि पालिका, प्रदेश हुँदै केन्द्रसम्म गहन छलफलका साथ कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याइन्। उनले भनिन्, “दिगो विकास लक्ष्यलाई दिगोपन दिन आवश्यक छ, बजेट विनियोजन र स्थानीय आवश्यकताबीच तालमेल हुनुपर्छ।

    दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले सुशासन र दिगो विकास मुलुकको प्राथमिकताको विषय भएकाले संघीय संसद् मातहतका सबै समिति यस मुद्दालाई छलफल गराउने बताइन्।

    उनले भनिन्, “दिगो विकास लक्ष्य प्राप्तिमा समग्र विश्वमा १२ प्रतिशत प्रगति हासिल भएको छ, त्यसको तुलनामा नेपालको प्रगति सुधारोन्मुख नै रहेको भए पनि बाँकी अवधिमा बाँकी लक्ष्य हासिल गर्न योजना छनोट, अनुगमन र कार्यान्वयनमा विशेष ध्यान पुर्‍याउन सक्नुपर्छ।

    संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले सबै प्रकारका गरिबी सबै ठाउँबाट अन्त्य गर्ने लक्ष्य बोकेको दिगो विकास लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा देशको विकास रणनीति र प्राथमिकताभन्दा बाहिर नगएको धारणा प्रस्तुत गरे।