नेपाल एक अर्ब जनसङ्ख्याको पानीको स्रोत : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-11-16
  • 18:32:27
  • सोमबार,मंसिर ०१, २०८३
  • नेपाल एक अर्ब जनसङ्ख्याको पानीको स्रोत : अर्थमन्त्री महत

    नेपाल एक अर्ब जनसङ्ख्याको पानीको स्रोत : अर्थमन्त्री महत

    काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसङ्ख्याको पानीको स्रोत नेपाल रहेको बताएका छन्।

    विश्व वातावरण कोषको सातौँ एसेम्बली बैठकमा बोल्दै उनले ४५ प्रतिशत वन क्षेत्र संरक्षण गरेर नेपालले मानव समुदायको श्वास प्रश्वासका लागि अक्सिजन प्रवाह गरिरहेको पनि बताए।

    उनले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा इमान्दार प्रयास गरिरहेको बताउँदै दुर्लभ तथा सङ्कटापन्न जङ्गली जनावरको संरक्षण गरेको पनि बताए। त्यसको नतिजा स्वरूप नेपालमा बाघ र एकसिंगे गैडाको संख्या उल्लेख्य रूपमा बढेको पनि मन्त्री महतले दाबी गरे।

    प्रयासका बाबजुद नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औँ उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरूमा बाढी पहिरो अतिवृष्टि, सुख्खा साथै हिमताल विस्फोटको जोखिम समेत बढेको उनले बताए।

    नेपालको तापक्रम सन् २०३० सम्ममा ०।५ देखि २।० डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा करिब ५० अर्ब अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको डा. महतले बताए।

    मन्त्री डा. महतले वातावरणीय कोषका कार्यक्रमहरू राष्ट्रिय प्रणाली मार्फत कार्यान्वयन गर्नुपर्ने बताउँदै जलवायु परिवर्तनको बहुआयामिक असरलाई सम्बोधन गर्न उच्चस्तरको सहकार्य र सबैको योगदान आवश्यक रहेको धारणा राखे।