ललिता निवास जग्गा प्रकरण: सचिव राउत र सहसचिव वैद्यविरुद्ध पनि किर्तेमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय - Chaitanya News
  • 2026-11-16
  • 18:32:42
  • सोमबार,मंसिर ०१, २०८३
  • ललिता निवास जग्गा प्रकरण: सचिव राउत र सहसचिव वैद्यविरुद्ध पनि किर्तेमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय

    ललिता निवास जग्गा प्रकरण: सचिव राउत र सहसचिव वैद्यविरुद्ध पनि किर्तेमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय

    काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील वैद्यमाथि बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा किर्ते गरेको अभियोगमा मुद्दा चलाइएको छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सचिव राउतलाई मुद्दा नचलाउन राय दिएकोमा सरकारी वकिलले भने सरकारी लिखत किर्तेको कसुरमा मुद्दा चलाउने निर्णय गरेको सरकारी वकिल कार्यालय स्रोतले बताएको छ।

    ललिता निवास जग्गा प्रकरण अनुसन्धानका लागि राउतलाई प्रहरीले २४ असारमा पक्राउ गरेको थियो। तर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएसँगै उनी करिब दुई सातापछि रिहा भएका थिए। निर्णयकर्तालाई उन्मुक्ति दिएर जिम्मेवारी निर्वाह गर्ने कर्मचारी मुद्दा चलाएको भन्दै कर्मचारी वृत्तमा व्यापक विरोध भएको थियो।

    शाखा अधिकृत छँदा ललिता निवासको जग्गासम्बन्धी मन्त्रिपरिषदमा पठाउने फाइलमा टिप्पणी उठाएका आधारमा सीआईबीले राउतलाई अनुसन्धानमा तानेको थियो। जबकि उनी भन्दा माथिका अधिकारीले उनको टिप्पणीलाई नछोईकनै अघि बढाएका थिए।

    यता निर्णय गर्नेलाई भने उन्मुक्ति दिइएको छ । मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्रीको भूमिका नै महत्त्वपूर्ण र अन्तिम मानिने भएपनि उनीहरूलाई भने साक्षीका रूपमा मात्रै राखिएको छ।

    ललिता निवास प्रकरणमा २८६ आरोपीलाई सङ्गठित अपराध र किर्तेको कसुरमा मुद्दा चलाउन राय दिएको थियो तर सरकारी वकिलले सङ्गठित अपराधको कसुरमा पनि मुद्दा नचलाउने निर्णय गरेको छ।