काठमाडौँ– सहसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहलाई प्रतिवादी नबनाउने निर्णय भएको छ।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका अवकाश प्राप्त सहसचिव शाहलाई सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा नचलाउने भएको हो।
सीआईबीले भने उनीविरुद्ध २९ करोड ३२ लाख मागदाबीसहित मुद्दा चलाउन राय दिएको थियो।
६२ दिन हिरासतमा राखेर अनुसन्धान भएपनि मुद्दा चलाउने बेला सरकारी वकिलको कार्यालय, काठमाडौँले उनलाई प्रतिवादी नबनाउने निर्णय गरेको हो।
सीआईबीको अनुसन्धानमा शाहले मालपोत कार्यालय भक्तपुरको प्रमुख हुँदा राणा परिवारबाट जग्गा प्राप्त गरेर सरकारी जग्गा हत्याउन सहयोग गरेको देखाएको थियो।
शाहले श्रीमती उर्मिला शाहको नाममा ११ आना २ पैसा जग्गा लिएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो। सुधीर पत्नी उर्मिला शाह र गेहनाथ पत्नी भुवनकुमारी चापागाईँको नाममा कित्ता नम्बर ३६ को १ रोपनी २ पैसा जग्गा पनि भेटिएको थियो।
तर, सरकारी वकिलले उनीविरुद्ध पनि मुद्दा नचलाउने निर्णय गरेको छ । मुद्दा नचलाउने निर्णय गर्दा के आधार सरकारी वकिलले लिएको छ भन्ने स्पष्ट भइसकेको छैन।