काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा सुरु भएको बताएका छन्।
आज (शुक्रबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानातान, भर्त्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गरे।
नयाँ पार्टीहरुप्रति लक्षित गर्दै उनले अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा भर्त्सनामा उत्रिनेहरु आएको उल्लेख गरे। उनले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाए। उनले अध्यक्ष ओलीका कारण वाम आन्दोलनको सबै सम्भावना टुटेको जिकिर गरे।
उनले भने, ‘राजनीतिमा जब हाम्रो ओली कमरेडको उदय सुरु भयो, त्यसपछि नेपालको राजनीतिमा घृणाको, निन्दाको, खुट्टा तानातानको, भर्त्सनाको, गालीको यो एउटा परम्परा, संस्कृति हुँदै गयो। अहिले त ओलीजी भन्दा १० हात अघि गएर निन्दा भर्त्सनामा अरु नै आइपुगे।’