पदीय जिम्मेवारी निर्वाह हो, कुनै बदनियत छैन : सञ्चार सचिव राउत - Chaitanya News
  • 2026-11-16
  • 18:29:53
  • सोमबार,मंसिर ०१, २०८३
  • पदीय जिम्मेवारी निर्वाह हो, कुनै बदनियत छैन : सञ्चार सचिव राउत

    पदीय जिम्मेवारी निर्वाह हो, कुनै बदनियत छैन : सञ्चार सचिव राउत

    काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा ‘बदनियत नराखेको’ बयान दिएका छन्। सो प्रकरणमा पक्राउ परेका सचिव राउतले सिआबीसँगको आफ्नो बयानमा उक्त कुरा बताएका हुन्। तर, साउन ५ मा सर्वोच्च अदालतले छाड्न आदेश दिएपछि उनी रिहासमेत भइसकेका छन्।

    बालुवाटारमा विशिष्ट व्यक्तिहरूको निवास विस्तार सम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयको अनुसूचीमा भेटिएको त्रुटि सच्याउने प्रस्ताव पुनः मन्त्रिपरिषदमा लैजाने टिप्पणी राउतले तयार गरेका थिए। भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले सो टिप्पणी तयार गरेका हुन्।

    भवन निर्माण सम्भार डिभिजन कार्यालयबाट उठान भएको फाइललाई तोक आदेश बमोजिम रायसहित निर्णायार्थ शाखा प्रमुखकहाँ पेस गरेको उनले बताएका छन्। बयानमा सचिव राउतले भनेका छन्, ‘मेरो कुनै बदनियत छैन, तोक आदेशको आधारमा पदीय जिम्मेवारी निर्वाह गर्ने क्रममा शाखा प्रमुख समक्ष आवश्यक निर्माणार्थ पेस गरेको मात्र हो।’

    केन्द्रीय अनुसन्धान ब्युरोले राउतलाई सङ्गठित किर्ते मुद्दामा प्रतिवादी नबनाउन सरकारी वकिललाई राय दिएर अनुसन्धान प्रतिवेदन बुझाएको छ।