काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षले आफूलाई जालमा पार्न जाल बिछ्याउँदै हिँडेको आरोप लगाएका छन्।
आज (बिहीबार) पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले माकुराको जालोमा भैँसी पर्दैन भन्दै व्यङग्य समेत गरेका हुन्।
उनले भने, ‘मलाई थाहा छ विरोधीहरु छन् तिनीहरुले पाएसम्म सत्यका विरुद्ध काम गर्छन्। तिनीहरु हाम्रा विरुद्ध आइलाग्न सक्छन्। म सर्तक छु कानूनी रुपमा पनि कतै एक शब्द नचिप्लियोस्। मेरा काम कारबाहीहरु म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा गृहमन्त्री हुँदा मेरा काम कारवाहीहरु एक शब्द नचिप्लियोस् भनेर मैले कानून पल्टाइ पल्टाइ फैसला गर्ने गरेको छु। त्यसकारण यिनीहरुको को इच्छाले केपी ओलीलाई फसाउन माकुराको जालोमा भैँसी पर्दैन भन्ने कुरा यीनिहरुले बुझ्नुपर्छ।
उनले झुटैमा जाने हो भने कानूनले आफूलाई हत्कडी लगाउनसक्ने कुनै ठाउँ नराखेको दाबी गरे। उनले भने, ‘झुटैमा जाने हो भने तर कानूनले केपी ओलीलाई हत्कडी लगाउनसक्ने कुनै ठाउँ केपी ओलीले राख्दै राख्दैन। राखेकै छैन। किनकी केपी ओली ढुक्कले भन्छ। ’