प्रस्ताव आउनुअघि त्यसबारे केही थाहा थिएन : अध्यक्ष नेपाल - Chaitanya News
  • 2026-11-16
  • 18:58:40
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रस्ताव आउनुअघि त्यसबारे केही थाहा थिएन : अध्यक्ष नेपाल

    प्रस्ताव आउनुअघि त्यसबारे केही थाहा थिएन : अध्यक्ष नेपाल

    काठमाडौं– अध्यक्ष माधव कुमार नेपालले चैत २०६६ मा प्रधानमन्त्री निवास विस्तारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेस हुनुअघिसम्म त्यसबारे विस्तृत विवरण आफूलाई थाहा नभएको बताएका छन्।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सँग ‘कागज गर्ने’ क्रममा उनले आफू प्रधानमन्त्री हुनुअघि नै प्रधानमन्त्री निवास परिसर बिस्तार गुरुयोजना तयार भएको र त्यसबारे आफूलाई विस्तृत जानकारी नभएको दावी गरेका हुन्। ‘म नेपालको प्रधानमन्त्री पदमा बहाल हुनुभन्दा अघि नै प्रधानमन्त्री निवास परिसर बिस्तार गुरुयोजना तयार भइसकेको रहेछ,’ उनले बयानमा भनेका छन्, ‘मेरो कार्यकाल अघि नै गुरुयोजना तयार भइसकेको हुँदा सो सम्बन्धमा विस्तृत जानकारी मलाई भएन।

    आफू पदमा बहाल रहेको बेलामा सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषदमा प्रस्ताव पेस भएकोमा छलफलपछि निर्णय भएको बताए। प्रधानमन्त्री निवासको सुरक्षा, सौन्दर्यीकरण गर्ने र बाहिरको सरकारी जग्गा परिसरभित्र पार्न प्रस्ताव पेस भएको उनको दावी छ। कागज गर्ने क्रममा उनले भनेका छन्, ‘मन्त्रिपरिषदले असल मनसायका साथ गुरुयोजना कार्यान्वयन गर्नका लागि स्वीकृती दिएको हो।

    सम्बन्धित मन्त्रालयको प्रस्ताव मुख्यसचिवमार्फत मन्त्रिपरिषदमा पेस भएको, कानून अनुसार नै प्रस्ताव आएको विश्वासमा परी निर्णय भएको भन्दै उनले ‘आफ्नै कार्यकालमा सचिवहरुको बैठकले समेत प्रधानमन्त्री निवास विस्तारबारे निर्णय गरेको’ बताएका छन्।

    २०६६ साल चैत र पछि २०६७ साल वैशाखको निर्णयबाट बालुवाटारस्थित प्रधानमन्त्री निवासको क्षेत्र विस्तार भएको थियो। बाहिरको जग्गा प्रधानमन्त्री निवासभित्र पार्ने क्रममा त्यहाँ मोही र जग्गाधनी रहेको भन्दै बाहिर रहेको सरकारी जग्गा सट्टाभर्ना दिने निर्णय भएको थियो। त्यही निर्णय विवादमा परेको हो।

    पूर्वप्रधानमन्त्री नेपालले मोहीबारेको निर्णय समेत गलत नभएको जिकिर गरेका छन्। उनले ब्यूरोमा कागज गर्दै भनेका छन्, ‘उक्त प्रस्तावमा मोही भनी विभिन्न व्यक्तिहरुको नाम र जग्गाको विवरण उल्लेख गरिएको अनुसूची समेत संलग्न थियो, मन्त्रिपरिषदबाट निर्णय गर्दा सरकारको हितको लागि गरिएको हो, सोबाहेक अन्य कोही कसैलाई फाइदा पुग्ने हिसाबले गरिएको होइन।’