काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुँदैछ। सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको एकल इजलासमा पेशी तोकिएको छ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभाका सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गरेका छन्।
सभामुख सरहको हैसियत हुने सभाका अध्यक्षले मत बराबर रहेको अवस्थामा मात्रै कुनै प्रस्तावमा मत व्यक्त गर्नुपर्नेमा त्यो अवस्था नभई मत व्यक्त गर्ने काम असंवैधानिक भएको दाबी गरेका छन्।
न्यायाधीश खतिवडाको इजलासले कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछ।