काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकको व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँमा खुम्चिएको छ। व्यापार घाटा गत आर्थिक वर्षको साउनको तुलनामा केही कमी हो। गत वर्षको साउनमा मुलुकको व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड थियो।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो साउन महिनामा कुल १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। आयात गत वर्षको साउनको तुलनामा १.५६ प्रतिशत कम हो भने निर्यात ८.६५ प्रतिशत कम हो। समग्रमा आयात घट्नुले मुलुकको अर्थतन्त्र शिथिल रहेको संकेत गर्दछ।
आयात र निर्यात दुवैमा आएको गिरावटले समग्र वैदेशिक व्यापार तथा व्यापार घाटा समेत घटेको छ। साउनमा कुल वैदेशिक व्यापारको आकार १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँ कायम भएको छ। यो गत आवको यसै महिनाको तुलनामा २.२८ प्रतिशत कम हो। सो आवको साउनमा १ खर्ब ४६ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो। साउनमा व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँको भएको छ।