भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि प्याजको आयात रोकियो, रित्तिए कालीमाटीका गोदाम - Chaitanya News
  • 2026-05-26
  • 14:47:10
  • मंगलबार,जेठ १२, २०८३
  • भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि प्याजको आयात रोकियो, रित्तिए कालीमाटीका गोदाम

    भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि प्याजको आयात रोकियो, रित्तिए कालीमाटीका गोदाम

    काठमाडौं– भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन्।

    आयात रोकिएपछि कालिमाटीलगायतका मुख्य बजारमा प्याज अभाव भएको छ। भदौ ११ गते भारतले आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा ४० प्रतिशत भन्सार महशुल लगाउने निर्णय गरेको थियो।

    त्यसयता शनिबार र आइतबार प्याजको छिटफुट मात्रै कारोबार भए पनि सोमबारदेखि भने आयात र बिक्री नै ठप्प भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

    बजारमा भएका सबै पसलमा प्याज सकिएको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बता। ‘बजारमा ८० वटा आलु प्याजका पसल छन्’, श्रेष्ठले भने ‘सबै पसलमा प्याज सकिएको छ। प्याज नभएपछि मूल्य तोक्ने कुरै भएन।’

    कालिमाटी र काठमाडौंलाई आधार बनाएर आलु प्याजको कारोबार गर्ने व्यापारीहरुले भने भारतले निर्यात कर लगाएपछि उतैका व्यापारीहरुले प्याजको बिक्री नगरेको दाबी गरेका छन्।

    एक्कासी आएको नीतिका कारण उनीहरु अन्यौलमा हुँदा निर्यातकहरुले प्याज नै नपठाएको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए।

    ‘व्यवसायीले प्याज ल्याउन सकेको छैनन् । भएको प्याज सकियो’, महासचिव गजुरेलले भने, ‘अब आयात सहज नभई बजारमा प्याज उपलब्ध हुने अवस्था छैन।

    आइतबार कालीमाटी बजारमा प्याजको थोक बिक्री मूल्य ६१ रुपैयाँ प्रतिकिलो थियो। आइतबार दिउँसैदेखि बजारमा प्याजको मूल्य मनपरी लिन थालिएको थियो। लगत्तै वाणिज्य विभागले अनुगमन गरेपछि बजारमा प्याजको आपूर्ति ठप्प भएको छ।

    वाणिज्य विभागले भने भारतले कर थपेपछि प्याज नआएको हुन सक्ने भए पनि पहिल्यै आयात भएको प्याज पनि लुकाइएको हुन सक्ने अनुमान गरेको छ। कालोबजारी गरेको पाइए कडा कारबाही गर्ने विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए।