काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रज्ञामा माओवादीको साहित्य खै? भन्दै प्रश्न गरेका छन। आज (मंगलबार) माओवादी केन्द्र उपत्यका विशेष प्रदेष समिति सञ्चार सांस्कृतिक महाशादाको पूर्ण बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। यस्तै उनले माओवादीले दिएको योगदानको संरचनागत विकास देशमा नभएको समेत बताए।
प्रज्ञा प्रतिष्ठानमा पटक पटक पार्टीबाट प्राज्ञ गएका छन् तर त्यहाँ माओवादीको कविता, नाटक, गीत, साहित्य नछापिएको, प्रगतिशीलले नेतृत्व लिन नसकेको उनले बताए।
पुनले अगाडि भने, ‘शिक्षा मन्त्रालय माओवादीले पटक पटक सम्हाल्यो तर माओवादीले दिएको योगदानको चर्चा कहीँ पनि देखिएन।’
राज्यसत्ता बदलिन बल प्रयोग गर्यो तर संरचनागत परिवर्तनका लागि प्रक्रिया खोजेको कारण माओवादी पछाडि परेको बताउदै उनले पुरानो प्रक्रिया, प्रणालीलाई पछ्याउँदै गयो भने माओवादीले चाहेको परिवर्तन नहुने बताए।
उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिम्खडाले जनाधार घटेकाले त्यसलाई बढाउनका लागि पार्टीले अभियान चलाएको बताए। उनले भने, ‘देश हाम्रो एजेन्डामा चलेको छ। अरु पार्टी पनि हाम्रो एजेण्डमा चलेको छ तर संगठन किन कमजोर भयो भनी बुझ्न आवश्यक छ।’
तीनमहिने सम्मेलन सकेर विधान अधिवेशन गर्ने र त्यही विधानअनुसार पार्टी सन्चालन गर्ने उनले बताए।