काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफुलाइ देख्नुपर्छ भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वपक्षीय बैठकमा नआएको बताएका छन।
आज (मंगलबार)बिहानका लागि राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमालेका नेताहरु उपस्थित भएनन्।
चिया पिउँदै नेपालले राष्ट्रपतिसँग भने, ‘केपी ओली नआएको तपाईंको कारण होइन, मलाई देख्नुपर्छ भनेर हो।’
राष्ट्रपतिले पदीय भूमिका भन्दा बाहिर गएर सक्रियता देखाएकाले बैठकमा अनुपस्थित भएको एमालेले स्पष्टीकरण दिएको छ।
सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै राष्ट्रपति पौडेलले आफूले विधि बाहिर नगएको बताएका थिए। ‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन। म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ। त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो,’ पौडेलले बैठकको प्रारम्भमा धारणा राखे।
राष्ट्रपतिले सबै दललाई बोलाउनुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सकरात्मक कार्य भएको बताएका थिए। राष्ट्रपतिले देशको चिन्ता गरेर दलहरुलाई समझदारीबाट अगाडि बढ्नुस् भन्नु सकरात्मक कार्य भएको प्रचण्डले बताए।
‘चिन्ता प्रकट गरेर हामीलाई बोलाउनु भयो। यो अत्यन्तै सकरात्मक छ। राष्ट्रपतिले बोलाएको विषयमा विमति राख्नुपर्ने ठाँउ छैन,’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै सहभागी एक नेताले भने।
सोमबार राति दलहरुबीच सहमति भई संसद खुलाउने अवस्था रहेकाले धेरै कुरा नभएको सहभागी नेताले बताए। ‘संसद नखुलेको भए सबैले बोल्थे होला। उपस्थित मध्ये केहीले मात्रै बोले,’ सहभागी नेताले भने।