राष्ट्रपति पौडेलले भने: संंविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित छु - Chaitanya News
  • 2026-11-16
  • 19:13:36
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रपति पौडेलले भने: संंविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित छु

    राष्ट्रपति पौडेलले भने: संंविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित छु

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा रहेको  जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा आफु सधै चिन्तित रहेको बताएका छन। आज (मङ्गलबार) उनले आफैले बोलाएको सर्वदलीय बैठकमा बोल्दै यस्तो बताएका हुन्।

    यस्तै उनले संविधान र राजनीतिक प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको समेत बताए।

    बैठकमा उनले यसले गर्दा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौँ कि छैनौँ भनेर पनि सोच्नुपर्ने बेला भएको बताएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

    राष्ट्रपति पौडेलले भने, ‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन। म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ। त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो। विभिन्न कारणले तपाईँहरू सबैसँग भेट पनि हुनसकेको थिएन। तपाईँहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौँ भन्ने पनि थियो।’

    सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्त्वपूर्ण कानुन बन्न नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेको उल्लेख गर्दै उनले भने,’सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय अझै टुङ्गोमा पुग्न सकेको छैन। यतिबेला यो विषय टुङ्ग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पूरा हुन सक्दैन।’

    नेपाललाई ‘प्रि ग्रे लिस्ट’मा एक वर्षका लागि राख्ने स्थिति अर्को चिन्ताको विषय भएको जनाउँदै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन यथाशीघ्र पारित गरेर नेपाललाई कालोसूचीबाट जोगाउने पहलकदमी लिनु सबैको साझा दायित्व हो भन्ने आफूलाई लागेको उल्लेख गरे।

    देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन समयमा पारित गर्न सकिएन भने नेपालमा आउने विदेशी लगानी रोकिन सक्ने र नेपालको साख अन्तर्राष्ट्रिय जगत्मा गिर्न सक्नेतर्फ सचेत भएर ती कानुन बनाउन उनले आग्रह गरे।

    ‘जनताका यावत समस्याको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्व हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भइरहेका बेला सबै दलहरूको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खबरबाट सन्तोष मिलेको छ। यो सहमतिको प्रयत्नले तत्काल सार्थकता पाएर अवरुद्व संसद् सञ्चालन हुने छ भन्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने।